काठमाडौं-रसुवामा बुधबार आएको विनाशकारी बाढीमा घाइते भएका ७ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। घाइतेमध्ये ४ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र ३ जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरी उपचार सुरु गरिएको छ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार अस्पतालमा ल्याइएका चारै जना घाइतेको उपचार भइरहेको छ। उनले केही घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिँदै उपचारका लागि अस्पतालले ‘डिजास्टर कोड’ सक्रिय गरेको बताए।
‘उपचारका लागि हामी पूर्ण तयारी अवस्थामा छौं। अस्पतालको डिजास्टर कोड सक्रिय गरिएको छ। आईसीयू, भेन्टिलेटरसहित आवश्यक शय्या तयारी अवस्थामा राखिएका छन्,’ डा. सेढाईले बताए। उनले थप घाइते ल्याउनुपर्ने अवस्था आएमा हेलिप्याडसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए।
त्यस्तै, तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार घाइतेमध्ये दुई पुरुष र एक महिला रहेका छन्। उनीहरू सबै नुवाकोटका बासिन्दा हुन्।
डा. मरासिनीका अनुसार घाइतेहरूको पेट, हात र कम्मरमा चोट लागेको छ। उनीहरूलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। चिकित्सकहरूको निगरानीमा उनीहरूको स्वास्थ्य अवस्थाको मूल्यांकन र आवश्यक उपचार जारी रहेको ट्रमा सेन्टरले जनाएको छ।
रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ भने उद्धार, खोज तथा राहत कार्य जारी रहेको छ।


प्रतिक्रिया