अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसी बाढीमा ३८४ पर्यटक बेपत्ता, खोजी तथा उद्धार कार्य तीव्र

भोटेकोसी बाढीमा ३८४ पर्यटक बेपत्ता, खोजी तथा उद्धार कार्य तीव्र


काठमाडौं-रसुवाको भोटेकोसी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीपछि ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक विवरणमा नेपाली र विदेशी गरी ३८४ जना पर्यटकको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको हाे।

पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटन व्यवसायी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा कूटनीतिक नियोगहरूसँग समन्वय गरेर पर्यटकहरूको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ। बाढीका कारण सडक, पुल, सञ्चार तथा विद्युत् संरचनामा ठूलो क्षति पुगेकाले धेरै पर्यटकसँग तत्काल सम्पर्क हुन नसकेको बताइएको छ।

बाढीपछि रसुवागढी–टिमुरे क्षेत्र, गोसाइकुण्ड पदमार्ग तथा आसपासका पर्यटकीय क्षेत्रमा रहेका पर्यटकहरूको खोजी कार्य तीव्र पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहका टोलीहरू उद्धार र खोजी अभियानमा परिचालित छन्। यसअघि प्राप्त विवरणअनुसार बाढीले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल बगाउनुका साथै सडक, भन्सार यार्ड र विभिन्न संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटकहरूको सूची अद्यावधिक गर्ने कार्य जारी रहेको जनाएको छ। बोर्डका अनुसार हाल बेपत्ता भनिएका सबै व्यक्ति दुर्घटनामा परेकै हुन् भन्ने निष्कर्षमा पुग्न नसकिने भएकाले तथ्यगत विवरण संकलन भइरहेको छ। कतिपय पर्यटक सुरक्षित स्थानमा रहे पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण सूचीमा परेका हुन सक्ने अधिकारीहरूको भनाइ छ।

यसैबीच, सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि उच्च सतर्कता अपनाएको छ भने विदेशी नागरिकको अवस्थाबारे सम्बन्धित दूतावासहरूसँग पनि समन्वय भइरहेको जनाइएको छ। पर्यटन बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना मात्र विश्वास गर्न र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।