अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी: उद्धार र राहतमा जुट्न एमाले बागमतीको अपिल

भोटेकोशी बाढी: उद्धार र राहतमा जुट्न एमाले बागमतीको अपिल


काठमाडौंचीनको तिब्बतबाट बुधबार बिहान अचानक आएको बाढीका कारण रसुवाको भोटेकोशी नदी क्षेत्रका टिमुरे, स्याफ्रुबेँसीलगायत स्थानमा ठूलो क्षति भएको भन्दै नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले दुःख व्यक्त गरेको छ।

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा बाढीबाट सयौं नागरिक बेपत्ता भएको तथा अर्बौं रुपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुगेको खबरले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख छ। बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका विभिन्न बस्तीमा समेत जनजीवन प्रभावित भएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ।

एमालेले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। साथै प्रभावित तथा विस्थापित नागरिकका लागि सुरक्षित आवासको प्रबन्ध गरी खाद्यान्न, खानेपानी, कपडा, औषधिलगायत अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन नेपाल सरकार, बागमती प्रदेश सरकार, स्थानीय तह तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ।

त्यस्तै, अवरुद्ध सडक, पुल, विद्युत्, सञ्चार र खानेपानीलगायत अत्यावश्यक पूर्वाधारको तत्काल अस्थायी व्यवस्थापन गरी जनजीवन सामान्य बनाउन एमालेले माग गरेको छ। थप मानवीय क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

एमालेले भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरलगायत जिल्लाका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विपद्को वास्तविक अवस्था तथा बेपत्ता र प्रभावित नागरिकको विवरणबारे भरपर्दो र आधिकारिक सूचना नियमित रूपमा प्रवाह गर्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

विपद्को यस विषम परिस्थितिमा पार्टीका सम्पूर्ण तहका कमिटी, जनप्रतिनिधि, जनसंगठन, स्वयंसेवक तथा शुभेच्छुकलाई उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा सक्रियतापूर्वक जुट्न एमाले बागमती प्रदेश संगठन कमिटीले आह्वान गरेको छ।

पीडित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै राज्य, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिक एकताबद्ध भएर विपत्तिको सामना गर्नसमेत अध्यक्ष ढुङ्गेलले आग्रह गरेका छन्।