अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीपछि एमाले सचिवालयको आकस्मिक बैठक जारी

रसुवा बाढीपछि एमाले सचिवालयको आकस्मिक बैठक जारी


काठमाडौं-चीनको तिब्बतबाट बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदी क्षेत्रका टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्रमा भएको ठूलो जनधनको क्षतिबारे छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे सुरु भएको बैठकमा बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यको अवस्था, प्रभावित नागरिकको व्यवस्थापन तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे छलफल चलिरहेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी बनाउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाबारे पनि बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बजार, बस्ती, सडक, पुल, सरकारी तथा सुरक्षा निकायका संरचना, सवारीसाधन, विद्युत् तथा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले नदी किनारका धेरै संरचना बगाएको तथा केही क्षेत्र सम्पर्कविहीन बनेका छन्।

बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट हुँदै धादिङको गल्छी, मलेखुलगायत क्षेत्रमा समेत ठूलो प्रभाव परेको छ। नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा घर तथा संरचनामा क्षति पुगेको छ भने त्रिशूली नदीमा रहेका पुल तथा जलविद्युत् संरचनासमेत प्रभावित भएका छन्।

सडक विभागका अनुसार भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीका कारण कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडक प्रभावित भएको प्रारम्भिक विवरण छ। धादिङको गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बाढीले बगाएको र मलेखु क्षेत्रमा समेत नदी आसपासका संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ।

मानवीय क्षतिको विवरण पनि बढ्दै गएको छ। पछिल्लो प्रहरी विवरणअनुसार बाढीमा परी कम्तीमा ९ जनाको शव फेला परेको छ। धादिङमा ६ जनाको शव भेटिएको तथा नुवाकोट र रसुवामा समेत शव फेला परेको विवरण आएको छ। ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मी सम्पर्कविहीन रहेको र खोज तथा उद्धार जारी रहेको छ।

बाढीका कारण जलविद्युत् क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार रसुवा र आसपासका क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजना, सबस्टेसन तथा वितरण संरचना प्रभावित भएका छन्। बाढीले करिब ४३० मेगावाट बराबरको जलविद्युत् उत्पादन क्षमतामा अवरोध पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

बाढीको बहाव त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत फैलिएकाले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नदी किनारमा उच्च सतर्कता अपनाइएको छ। प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी कार्यमा परिचालित छन्।

एमाले सचिवालय बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।