काठमाडौं-नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
बुधबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।
बैठकपछि जारी वक्तव्यमा अध्यक्ष ओलीले हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि ठूलो संख्यामा महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन रहेको र धेरै जना घाइते भएको उल्लेख गरेका छन्। उनका अनुसार रसुवाको टिमुरे बजारसहितका क्षेत्रमा सयौँ घर तथा पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत्गृह, सबस्टेसन तथा कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ।
अध्यक्ष ओलीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै उच्च जोखिममा रहेको भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। उनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
‘विपतमा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व हो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘नागरिकको ज्यान बचाउन, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार गर्न, जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्न तथा घाइतेको तत्काल उपचार सुनिश्चित गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र र स्रोतसाधन परिचालन गर्नुपर्छ।’
उनले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्। साथै संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
अध्यक्ष ओलीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मानवीय सहायताका कार्यमा अग्रसर हुन आग्रह गरेका छन्।
उनले सरकारलाई उद्धार तथा राहत कार्यमा कुनै ढिलासुस्ती नगर्न चेतावनी दिँदै प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पुर्याउन पुनः जोडदार आह्वान गरेका छन्।


प्रतिक्रिया