काठमाडौँ-रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बाढीपछि विभिन्न नदी तथा खोलाका किनारमा खोजी गर्दा अहिलेसम्म ७२ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
काफ्लेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा शवहरू भेटिएका हुन्। भेटिएका शवमध्ये धेरैको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी रसुवाको भोटेकोशी नदीमा मिसिएपछि ठूलो जनधनको क्षति भएको हो। बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी तथा मैलुङ आसपासका क्षेत्रमा रहेका बस्ती, प्रहरी चौकी, सरकारी संरचना, सडक तथा पुलमा समेत व्यापक क्षति पुर्याएको छ।
बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। यसमध्ये नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरी बलका ९ जना रहेको बताइएको छ। बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा रहेका प्रहरी संरचनामा क्षति पुर्याएको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। नेपाली सेनाले हेलिकोप्टरमार्फत बाढी प्रभावित विभिन्न स्थानबाट ८८ जनाको उद्धार गरिसकेको जनाएको छ। उद्धार कार्य अझै जारी रहेकाले उद्धार गरिएकाको संख्या बढ्न सक्ने सेनाले जनाएको छ।
उद्धार तथा खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। सेनाले हेलिकोप्टरसँगै ड्रोनसमेत प्रयोग गरेर जोखिमयुक्त तथा पहुँच कठिन भएका क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।
बाढीका कारण रसुवा र आसपासका जिल्लामा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, सरकारी कार्यालय तथा अन्य संरचना बाढीले बगाएको वा क्षति पुर्याएको छ। बाढीको प्रभाव त्रिशूली नदी हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको छ। धादिङको त्रिशूली नदी किनार तथा नुवाकोटका विभिन्न स्थानमा समेत शव भेटिएका छन्।
बाढीपछि जोखिम अझै कायम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। नदीमा थप बाढी वा आकस्मिक बहाव आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन भनिएको छ।
यसैबीच, घाइतेको उपचार तथा उद्धारका लागि स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको टोली आवश्यक स्वास्थ्य सामग्री लिएर रसुवातर्फ पठाइएको छ भने काठमाडौंका विभिन्न अस्पताललाई पनि सम्भावित घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेकाले मृतक, बेपत्ता र क्षतिको संख्या थप बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ। बेपत्ताको खोजी, शव संकलन तथा पहिचान र प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले काम गरिरहेको छ।


प्रतिक्रिया