अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर


काठमाडौं-सिभिल सहकारी ठगी मुद्दामा सञ्चालक इच्छाराज तामाङसहित १७ जना दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित १७ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। अदालतले उनीहरूको सजाय निर्धारण भने बाँकी राख्दै त्यसका लागि २०८३ भदौ २५ गते पेसी तोकेको छ।

दोषी ठहर हुनेमा तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङ छन्।

अदालतको आदेशमा प्रतिवादीहरूले मुलुकी ऐन ठगीको महल १ मा परिभाषित तथा निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) ले निषेधित उपदफा (२) बमोजिमको कसुर गरेको ठहर गरिएको उल्लेख छ।

सजाय निर्धारणका लागि दुवै पक्षको सजायपूर्वको प्रतिवेदन लिनसमेत अदालतले आदेश दिएको छ। अब भदौ २५ गते हुने सुनुवाइबाट उनीहरूलाई कति सजाय हुने भन्ने टुंगो लाग्नेछ।

यसैबीच, तामाङसहित सबै १७ जना प्रतिवादीले संगठित अपराधसम्बन्धी कसुरमा भने सफाइ पाएका छन्।