अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगुमा हिमपहिरोमा पुरिएका युवकको शव ल्याउन सुरक्षाकर्मी परिचालन

मुगुमा हिमपहिरोमा पुरिएका युवकको शव ल्याउन सुरक्षाकर्मी परिचालन


मुगु-हुम्ला र मुगु जिल्लाको सिमावर्ती क्षेत्र मिमी पाटनमा हिमपहिरोमा परी मृत्यु भएका तथा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

गत २८ भदौमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका-९ का अङ्गबहादुर रोकाया र ललितजंग बडुवालसहित १३ जना हुम्लाको चंखेली गाउँपालिका–२ र मुगुम कार्मारोङ गाउँपालिका–७ को सिमावर्ती मिमी वनमा जडीबुटी संकलन गर्न पुगेका थिए।

जडीबुटी संकलनका क्रममा चंखेली गाउँपालिका–२ का स्थानीयसँग झडप भएपछि भाग्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । खोजीका क्रममा बेपत्तामध्ये अङ्गबहादुर रोकायाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीका अनुसार रोकायाको शव शनिबार (१७ असोज) दिउँसो १२ः२० बजे हुम्लाको चंखेली गाउँपालिका–२ र मुगुको सीमास्थित मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा फेला परेको हो । घटनास्थलमा करिब पाँच फिटसम्म हिउँ जमेकाले शव निकालेर ल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बेपत्ता अर्का व्यक्ति ललितजंग बडुवालको खोजी तथा रोकायाको शव उद्धारका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार (१९ असोज) नेपाली सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका छ गरी २० जनाको संयुक्त उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ ।

प्रहरीका अनुसार रोकायाको शवलाई स्थानीयले कम्मलले छोपेर वरिपरि ढुंगा राखी सुरक्षित राखेका छन् । बाक्लो हिउँका कारण शव निकाल्न तथा बेपत्ताको खोजी गर्न थप कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।