काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेस गरेको छ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरेको प्रकरणमा अख्तियारले मंगलबार नेपाललाई प्रतिवादी बनाउँदै मुद्दा पेस गरेको हो।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले २०६६ सालमा मन्त्रिपरिषद्बाट निर्णय गराएर इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न र त्यसको सट्टामा दुर्गम स्थानमा रहेको जग्गा लिन अनुमति दिएको थियो।
मन्त्रिपरिषद्को निर्णयका आधारमा सार्वजनिक जग्गा छुट दर्ता तथा जग्गा सट्टापट्टा गराउने क्रममा अनियमितता भएको अख्तियारको दाबी छ। सोही प्रकरणमा नेपाललाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै हाल मुद्दाको कागजात रुजु गर्ने काम भइरहेको जानकारी दिइन्।
यसअघि पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।
यससँगै नेपालविरुद्ध विशेष अदालतमा दुईवटा भ्रष्टाचार मुद्दा विचाराधीन हुने भएका छन्।



प्रतिक्रिया