अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमणमा विश्वास पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ: प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको भारत भ्रमणमा विश्वास पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ: प्रदीप ज्ञवाली


काठमाडौं-पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई नेपाल-भारतबीच पछिल्लो समय कमजोर बनेको आपसी विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमपछि काठमाडौं र नयाँदिल्लीबीच बढेको दूरी कम गर्नु प्रधानमन्त्री शाहको भ्रमणको प्रमुख प्राथमिकता हुनुपर्ने बताएका हुन्।

उनका अनुसार गत वर्ष सेप्टेम्बरमा भएका घटनाक्रम, त्यसपछि नेपालमा सम्पन्न निर्वाचन र नयाँ सरकार गठनसँगै दुई देशबीच आपसी विश्वासमा कमी आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वासको वातावरण पुनःनिर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

‘गत सेप्टेम्बरका घटनाक्रम, त्यसपछि भएको निर्वाचन र नयाँ सरकार गठनसँगै दिल्ली र काठमाडौंबीच दूरी र विश्वासको संकट देखिएको छ । त्यसैले यी दुई महत्त्वपूर्ण छिमेकी तथा साझेदार राष्ट्रबीचको दूरी घटाउने र विश्वास पुनःस्थापित गर्ने विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ,’ ज्ञवालीले भने ।

ज्ञवालीले प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित, चासो र सरोकारका विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । उनले नेपाल–भारतबीच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही प्रावधानको पुनरावलोकन र नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयलाई महत्त्वपूर्ण मुद्दाका रूपमा प्रस्तुत गरेका छन् ।

नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन विद्यमान व्यापार सम्झौतामा आवश्यक संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, नेपाल र भारतबीच आर्थिक सहकार्यको सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै ज्ञवालीले मूल्य तथा आपूर्ति शृङ्खला विकासमा दुवै देशले सहकार्य गर्नुपर्ने बताएका छन् । पुराना विवाद समाधान गर्दै व्यापार, लगानी र आर्थिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सके दुवै देश लाभान्वित हुने उनको भनाइ छ ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्म भारतको दुईदिने राजकीय भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने तथा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ ।