अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा प्रेस स्वतन्त्रतामा सम्झौता गर्दैन: महामन्त्री आचार्य

रास्वपा प्रेस स्वतन्त्रतामा सम्झौता गर्दैन: महामन्त्री आचार्य


विराटनगर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको अडान चट्टानी रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले रास्वपा प्रेस विरोधी पार्टी नभएको स्पष्ट पारे। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा पार्टीले कुनै पनि सम्झौता नगर्ने बताए।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन,’ महामन्त्री आचार्यले भने, ‘हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ।’

पत्रकारिता समाजको अभिन्न अंग भएकाले यस क्षेत्रलाई थप समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन पार्टी प्रतिबद्ध रहेको आचार्यको भनाइ थियो। उनले महासंघले उठाएका समस्या र मागलाई गम्भीरतापूर्वक अध्ययन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासनसमेत दिए।

महासंघ मोरङ शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै ध्यानाकर्षण पत्रमार्फत आपत्ति जनाएको छ।

त्यस्तै, सञ्चारमाध्यमका कार्यालयअगाडि अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने घटनामा संलग्नलाई कारबाही नगरेर सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारमाध्यमको निर्बाध सञ्चालन र पत्रकारको पेसागत सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ।