अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथी प्रकरण-तालिमप्राप्त कुकुर र घटनास्थलमा भेटिएको मोबाइलबाट पत्ता लाग्लान् अपराधी ?

भागरथी प्रकरण-तालिमप्राप्त कुकुर र घटनास्थलमा भेटिएको मोबाइलबाट पत्ता लाग्लान् अपराधी ?

appharu
0
Shares

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीको १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको पक्राउका लागि दबाब बढिरहेका बेला प्रहरीको थप अनुसन्धान टोली बैतडी पुगेको छ ।

स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाउन सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी पञ्चकुमार बाखुको टोलीले बैतडी पुगेको हो ।

भागरथीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानका आधारमा घटना भएको क्षेत्रमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-७ चडेपानी (कतोला) घर भएकी १७ वर्षीया भागरथी भट्टको बिहीबार राति बलात्कार पछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो ।

बुधबार (माघ २१ गते) बिद्यालय गएकी भट्ट विद्यालयबाट घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो ।

खोजीका क्रममा बिहीबार राति घरभन्दा तीन किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा बलात्कार पछि हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो ।

बैतडीको खोचलेक-चडेपानी कच्ची सडकको लवलेकको बीच जंगलमा सडक आसपासमा बलात्कार गरेपछि, घिसारेर सडकदेखि ५०-६० मिटर तल झाडिमा फालिएको अवस्थामा बिहीबार शव फेला परेको मृतक किशोरीका दाइ नाता पर्ने स्थानीय शिवराज भट्टले जानकारी दिए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको बलात्कार पछि हत्या भएको देखिएको छ ।

भागरथीको शव इलाका प्रहरी कार्यालय खोचलेक र उनी अध्ययनरत विद्यालय (सनातन धर्म मावि)देखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमोठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको जस्तै निर्मम र विभत्स तरिकाले बलात्कार पछि हत्या भएको अवस्थामा भागरथीको शव फेला परेपछि बिहीबार राति नै बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारी घटनास्थल पुगेका थिए ।

किशोरीको हत्या भएको थाहा पाएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली पनि शुक्रबार विहान घटनास्थल पुगेको थियो ।

घटनास्थल जिल्ला सदरमुकाम गोठलापानीबाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ ।

घटनास्थल पुगेर फर्किएका प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कार पछि हत्या भएको अनुमान गरिएको बताए ।

प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल समेत फेला परेको थियो । प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

किशोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि, प्रदेश सरकारको तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनक पाण्डेसहितको टोली शुक्रबार घटनास्थल गएको थियो ।

धनगढीबाट तालिम प्राप्त कुकुर पनि घटनास्थल लगिएका जनाइएको छ ।

बलात्कार पछि हत्या गरिएकी किशोरीका बुवाको एक महिना अगाडि मात्रै उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो ।

केही दिन अगाडि मात्रै उनका दाइ बुवाको किरिया सकेर रोजगारीका लागि भारत गएका थिए । ‘घरमा एक्लै आमा भएको भन्दै अभिभावकबिहीन भएको मौका छोपेर बलात्कार भएको हुनसक्छ,’ आफन्त शिवराज भट्टले भने ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले बैतडीमा बलात्कार पछि किशोरीको हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिइएको बताए ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी पाण्डेको नेृत्वमा, सीआइबीसहितको अनुसन्धान टोली शुक्रबार नै बैतडी पठाइएको उल्लेख गर्दै डीर्आजी सुवेदी भन्छन्, ‘तालिम प्राप्त कुकुरको टोली घटनास्थल पुगिसकेको छ । सिआइबी र टेक्निकल अनुसन्धान टोली पनि बैतडी पठाइएको छ ।’ घटनाका विषयमा प्राविधिक अनुसन्धान शुरु भइसकेको बताउने डीआईजी सुवेदी संलग्नहरु छिट्टै कानूनी दायरमा आउने बताउँछन् ।