अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथी हत्या प्रकरणः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख आफैं लागे घटनास्थलतर्फ

भागरथी हत्या प्रकरणः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख आफैं लागे घटनास्थलतर्फ

appharu
0
Shares

काठमाडौं ।  बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-७ चडेपानी (कतोला) घर भएकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणबारे जारी अनुसन्धानबारे बुझ्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख आफैं घटनास्थलतर्फ गएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी आइतबार बिहान बैतडीतर्फ लागेका हुन् । बलात्कार पछि हत्या गरिएको अवस्थामा किशोरीको शव फेला परेपछि डीआईजी सुवेदीले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेलाई खटाएका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत बैतडी पठायएको छ । सीआईबीका डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बैतडी पुगेको हो । बाखु नेतृत्वको सीआईबीको टोलीले यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा समेत अनुसन्धानमा खटिएको थियो ।

१७ वर्षीया भागरथी बुधबार (माघ २१ गते) बिहान विद्यालय गएकी थिइन् । गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा मक्षा १२ मा अध्ययनरत भागरथी साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले सोधी-खोजी गर्ने क्रममा बिहीबार राति जंगलमा शव फेला परेको थियो ।

घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको बलात्कार पछि हत्या भएको देखिएको छ । भागरथीको शव इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयदेखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमुठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल फेला परेको छ । अहिले प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाएको छ ।