अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपुरको कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

नवलपुरको कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल


नवलपुर- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।

पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताउनुभयो । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो ।

पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारीले बताउनुभयो ।

प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताउनुभयो । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गर्नुभयो । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउनुहुँदै उहाँले यसको थप व्यवस्थापनमा समेत लागि पर्ने आश्वासन दिनुभयो ।