अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरका आधारमा होटललाई संकेत चिन्ह प्रदान गरिने

गुणस्तरका आधारमा होटललाई संकेत चिन्ह प्रदान गरिने


काठमाडौं- सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रूपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने तयारी थालेको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने सरकारले तयारी थालेको हो ।

उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो । संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ ।

यस्तो संकेत चिन्न निश्चित आकारको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ ।

सबै स्तरका रिसोर्ट, तारा स्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनोटअनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा अंग्रेजीमा (टीएस) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले जानकारी दिनुभयो ।