अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका


कञ्चनपुर- कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ ।

तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी १ करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ ।

आव २०७४/७५ मा रु दुई लाख ५५ हजार ६२०, आव २०७५/७६ मा रु ५४ लाख ४७ हजार र आव २०७६/७७ मा रु एक करोड ३४ लाख रकम तीन वर्षको अवधिमा लगानी गरिएको छ । किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले उन्नतजातको गहुँ बीउ दुई हजर ४०० किसानलाई वितरण गरिएकोमा जसबाट १७७ मेट्रिक टन गहँु उत्पादन भएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

उहाँका अनुसार च्याउ उत्पादन बढाउन ७५५ लाई अनुदानमा बीउ उपलब्ध गराई जसको उत्पादन ८७५ किलो भएको छ । नयाँ तीन हजार ५०० किसान च्याउ खेतीमा आवद्ध भएका छन् । मह उत्पादन बढाउन घारमा तथा माछामा आत्मनिर्भर बनाउन किसानलाई पोखरीलगायत पूर्वाधार निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको छ ।

आव २०७४/७५ मा नगरपालिकाले आफ्नै लगानीमा दुई ठाउँमा बेमौसमी तरकारी खेतीका लागि ६० हजार बेर्ना उत्पादन गरी दुई हजार ५०० किसानलाई निःशुल्क वितरण गरेको थियो । सोही आवमा पाँच बिघा क्षेत्रफलमा गरिएको केरा खेतीमा थोपा सिँचाइका लागि किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको कृषि शाखाका कर्मचारीको भनाइ छ ।

“दश बिघा क्षेत्रफलमा नयाँ मत्स्य पोखरी निर्माण गरी ४०० क्विन्टल माछा उत्पादन गरिएको थियो”, शाखाका कर्मचारीले भन्नुभयो । नगरपालिकाकै सहयोगमा किसानले ५०० आधुनिक मौरी घार निर्माण गरिएकोमा सोबाट एक हजार किलोमह उत्पादन भई रु पाँच लाख बराबरको आयआर्जन गरिएको छ । आवश्यकताका आधारमा सोही अवधिमा किसानलाई घुम्ती तालीमसमेत दिईएको थियो ।

‘आव २०७५र७६ मा कृषिउपजको उत्पादन भण्डारण र बजारीकरणको व्यवस्था गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने नीति ल्यायौँ,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘कृषि उत्पादनमा रासायनिक मल तथा हानीकारक कीटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै जलवायुमैत्री, आइपिएम तथा अर्गानिक तरकारी खेती विस्तार कार्यलाई प्रोत्साहन गरेका छौँ ।’

नगरपालिकामा बसोवास गर्ने २४ किसानलाई ४५ कट्टामा लसुन खेतीका लागि अनुदान रकम उपलब्ध गराई १ हजार ५ सय किलो लसुन उत्पादन गरिएको छ ।

सोही अवधिमा ३२ कट्टामा प्याज उत्पादनका लागि अनुदान रकम उपलब्ध गराई एक हजार ६०० किलो प्याज उत्पादन गरिएको छ । निर्धारित लक्ष्यअनुसार २५० स्थानको माटो परीक्षण गरी खाद्यतत्वको उचित व्यवस्थापन गर्न माटो सुहाउँदो खाद्य तथा नगदे बाली खेतीमा जोड दिने कार्यसमेत गरिएको छ । गोठ सुधार कार्यक्रमअन्तर्गत २५ कृषकलाई अनुदान दिइएको छ । आव २०७४/७५ अनुदान पाएका किसानले ५०० क्विन्टल माछा उत्पादनसँगै ४० जनालाई रोजगारी दिएका छन् ।

माटो सुहाउँदो खेती गरी आम्दानी गर्नका लागि आव ०७६/७७ मा एक वडा एक कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ । जुन कार्यक्रम चालु आवमा समेत सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत वडा नं २, १० र १९ मा पाँच बिघा जग्गामा दुई हजार ६४० कागतीका बोट र वडा नं ९ र १९ मा १५ कट्टामा एक हजार २४५ मेवाका बोट खेती गरी २५ जनालाई रोजगारी दिइएको छ ।

कृषि यान्त्रीकरणका लागि कम्बाइन मिल दुई थान, धान चुट्ने थ्रेसर चार थान, मल्टिप्रपोज पावर टिलर एक थान र हाते धान काट्ने मेसिन एक थानसमेत किसानलाई वितरण गरिएको छ । माटोको गुणस्तर सुधार गरी बालीको गुणस्तर तथा उत्पादन बढाउन ४२ बिघा जमिनमा १२ हजार ६४० लिटर गहुत सङ्कलन हुने गरी गोठ सुधार गरिएकोछ । रासस