अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङका ९० किसानलाई अनुदानमा हाते ट्र्याक्टर

लमजुङका ९० किसानलाई अनुदानमा हाते ट्र्याक्टर


लमजुङ- पहाडी जिल्ला लमजुङमा अनुदानमा ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।

नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताउनुभयो । उहाँले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताउनुभयो ।

वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्र्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताउनुभयो ।

यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको २५ लाख २० हजार रुपैयाँ बजेटमा ट्र्याक्टर खरीद गरी किसानलाई वितरण गरेकोे नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो । नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्र्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्र्याक्टर वितरण गरेको छ । ५० हजार मूल्यपर्नेमा ५० प्रतिशत अनुदानमा २५ हजार किसानको २५ हजार नगरपालिकाको, ६० हजार र ७० हजार पर्नेमा २८ हजार रुपैयाँ नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो ।

गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्र्याक्टरका लागि ३०० जना किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ ।

पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमीन बाँझो रहन थालेको थियो ।