अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, ६ महिनाभित्र व्यावसायिक सञ्चालनमा आउने

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, ६ महिनाभित्र व्यावसायिक सञ्चालनमा आउने


काठमाडौं- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करिब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ ।

प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ । विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।

विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करिब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । “९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एक/दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै, भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् । उहाँहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ ।

कोभिड-१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो । कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो । विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो । प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्रोगनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ । रासस