अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलको अभावमा अब किसानले छट्पटाउनु पर्दैन : मन्त्री अर्याल

मलको अभावमा अब किसानले छट्पटाउनु पर्दैन : मन्त्री अर्याल


काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनुभएको छ । शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसान छट्पटाउनु नपर्ने बताउनुभएको हो ।

मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि बताउनुभयो । मन्त्री अर्यालले भारतको खुल्ला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गर्ने बताउनुभयो ।

‘ढुक्कका साथ भन्छौँ अब कृषि मन्त्रालयमा रासायनिक मलको अभावमा किसान छट्पटाउनु पर्दैन । त्यसको आवश्यकता पूर्ति गर्नेगरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडी बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘खुल्ला सिमानालाई अहिले बन्द गर्न सकिँदैन । ठ्याक्कै बन्दै गर्छौ भनेर जान सक्दैनौँ तर सिस्टममा ल्याउनको निम्ति हामी प्रयत्न गर्छौ । खुल्ला सिमानाको कारणबाट मल भित्रिने र त्यसबाट हुने जे विकृति छन् त्यसलाई ब्यवस्थित गर्नको निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौँ ।’

मन्त्री अर्यालले आफ्नो कार्य क्षेत्रभित्र नभए पनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको बताउनुभयो । हालसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानी समेत भइसकेको उहाँले बताउनुभयो ।

मन्त्रालयले नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा शुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम शुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रमहरु शुरु गरेको बताउनुभयो ।

यस्तै, ७ वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेको पनि बताउनुभयो । किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटी शुभारम्भ गर्ने तयारी भइरहेको बताउनुभयो ।

कृषि क्षेत्रमा ठेकेदारी प्रथा रहेको भन्दै मन्त्री आर्यालले त्यसलाई तोडेर अनुदानमा हुने बेतिथिलाई व्यवस्थित गर्नुपर्ने पनि बताउनुभयो । किसानलाई अनुदान दिने निर्देशिका ठिक ढंगले बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।