अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो बन्नेछ दमकमा निर्माण हुने नेपालकै ठूलो औद्योगिक पार्क

यस्तो बन्नेछ दमकमा निर्माण हुने नेपालकै ठूलो औद्योगिक पार्क


झापा- झापामा निर्माण हुने बहुचर्चित नेपाल-चाइनामैत्री औद्योगिक पार्कको शिलान्यास गरिने भएको छ । सो पार्कको शिलान्यास आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको हो ।

६४ अर्ब चिनियाँ लगानीमा बन्दै गरेको औद्योगिक पार्कमा ४ सय ९१ उद्योग बन्ने छन् । पार्क निर्माणपछि १ लाख व्यक्तिले रोजगारी पाउने छन्

सरकारले घोषणा गरेको पाँच औद्योगिक क्षेत्रमध्ये नेपाल-चाइनामैत्री औद्योगिक पार्कमा २ हजार वटा उद्योग निर्माण हुनेछन् । अन्तर्राष्ट्रियस्तरको यो औद्योगिक पार्क झापाको दमक, गौरदाह नगरपालिका र कमल गाउँपालिकाको २१ सय बिघामा निर्माण हुनेछ ।

६४ अर्ब चिनियाँ लगानीमा बन्दै गरेको यो औद्योगिक पार्क पहिलो चरणमा १३ सय बिघामा मात्र निर्माण हुँदैछ । यो औद्योगिक पार्कमा ४ सय ९१ उद्योग बन्ने छन् ।

औद्योगिक पार्क निर्माणपछि १ लाख व्यक्तिले रोजगारी पाउने नेपाल-चाइना इन्डस्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले बताउनुभयो ।

नेपाल-चाइनामैत्री औद्योगिक पार्क नेपालको पर्यटकीय औद्यौगिक पार्कको रूपमा चिनिने छ । यो पार्क बनाउने जिम्मेवारी चीन सरकारको लासा इकोनोमी जोन संस्थाले लिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड-१९) महामारीले औद्योगिक क्षेत्रको काम ढिला भए पनि अब निर्माण कार्यले गति लिने उहाँले बताउनुभयो । ‘नेपालमा पूर्वाधार निर्माणका लागि सबैभन्दा गाह्रो काम जग्गा प्राप्ती र वातावरण प्रभाव मूल्यांकन हो । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यी सबै काम सम्पन्न गरेर मात्रै शिलान्यास गर्दैछ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

औद्योगिक क्षेत्रले विदेशी आयात कम र स्वदेशी उत्पादनको निर्यात बढी गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

साथै, औद्योगिक पार्कपछि विदेशी वस्तु तथा त्यस्ता सेवाप्रतिको आत्मनिर्भरतालाई हटाउनेमा विश्वस्त रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।