अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरले तोक्यो ४२ खोप केन्द्र : ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने

भक्तपुरले तोक्यो ४२ खोप केन्द्र : ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने


भक्तपुर- दोस्रो चरणअन्तर्गत कोभिड-१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ ।

फागुन २३ गतेबाट शुरु हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यहाँका चारवटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर उक्त सङ्ख्यामा ज्येष्ठ नागरिकलाई खोप दिने भएको उहाँको भनाइ छ ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०/१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११÷११ गरि कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ । फागुन २३ गतेबाट नौ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिनुभयो । त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरुलाई पनि दोश्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाइने भएको छ । दोश्रो चरणको खोपअभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, एक हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ । खोप अभियान सफल पार्न वडास्तरीयदेखि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरीवेक्षण र अनुगमन गरिने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आइसीयुसहितको उपचार व्यवस्था गरिएको बताउनुभयो । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थयमा जटिल समस्या नआएपनि पूर्वतयारी भने गरिरहेको उहाँको भनाइ छ । खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भए पनि यस्ता लक्षण एक दुई दिनमै आफै निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ ।