अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलापछि एमालेमा छायो खुसीयाली

सर्वोच्चको फैसलापछि एमालेमा छायो खुसीयाली


काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग गरिदिएपछि एमालेका नेताकार्यकर्तामा खुसियाली छाएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विचाराधिन मुद्दामा आज फैसला गर्दै पार्टीको आधिकारिता ऋषि कट्टेललाई दिएको छ । यो फैसलासँगै एमाले र माओवादी केन्द्रको एकताको २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेको छ ।

सर्वोच्चको फैसलामा भनिएको छ ‘…साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी…..। ’

परारष्ट्रमन्त्री तथा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सञ्जालमा आज सर्वोच्चले गरेको फैसलाको पूर्णपाठको अंश सेयर गर्नुभएको छ ।

फैसला लगत्तै एमालेका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि फेसबुकमा आफूहरू अब २०७५ जेठ २ गतेको अवस्थामा पुगेको लेख्नुभएको छ ।

एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आजको संसदमा आसन ग्रहण गरेको तस्बिर फेसबुकमा राख्दै ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ’ लेख्नुभएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको फैसला शेयर गर्दै लेख्नुभएको छ, ‘सर्वोच्चको फैसला- सबै खुसी देखिन्छन् त ।’

यसैगरी, एमालेका अन्य तहका नेता कार्यकर्ताले पनि अदालतको फैसला शेयर गर्दै उत्साह प्रकट गरेका छन् । उनीहरूले प्रधानमन्त्री एवं नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सूर्य चिन्हको तस्बिर व्यापक रूपमा शेयर गरेका छन् ।

फैसलापछि माओवादीका नेताकार्यकर्ता र प्रचण्डतिर लागेका एमालेका नेता कार्यकर्ता भने मौन छन् । माओवादी नेता कार्यकर्ता भने फैसलापछि निराश देखिन्छन् । सर्वोच्चको फैसलालाई लिएर उनीहरू सामाजिक सञ्जालमा मौन देखिएका छन् ।

यसैबीच, सर्वोच्चको फैसलाकाे सम्मानस्वरूप एमालेका जिल्ला पार्टी कार्यालयमा आज साँझ दीप प्रज्वलन गरिने भएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि सर्वोच्चको फैसलालाई स्वीकार गर्दै खुसीयालीमा साँझ दीप प्रज्वलन गर्ने भएको छ ।