अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ को माओवादीमा विद्रोह, ‘वी आर वीथ केपी ओली’ भन्दै पाँच सांसद एमालेमा

प्रदेश २ को माओवादीमा विद्रोह, ‘वी आर वीथ केपी ओली’ भन्दै पाँच सांसद एमालेमा


काठमाडौं- प्रदेश नं २ को प्रदेशसभाबाट नेकपा माओवादी केन्द्रका पाँच जना सांसदले विद्रोह गर्ने भएका छन् । प्रदेश सभा सदस्यसमेत रहनुभएकी पूर्वराज्यमन्त्री ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, दिलिप साह, कुन्दन साह, मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने हुनु भएको हो ।

माओवादी शीर्ष नेताहरू रामबहादुर थापा, प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्टहरूले जुन बाटो अपनाउनुभयो आफूहरूले पनि सोही बाटो अपनाउने सांसद साहले स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडान, मधेसको विकास रअन्य सामाजिक समस्यामा देखाएको चासोले आफूलाई नेकपा एमाले भन्नमा गौरव हुने बताउनुभयो ।

‘म कुनै बेला प्रचण्डजी निकट थिए । जनयुद्धमा पनि लामो समय लडभिड गरेकी योद्धा हुँ, तर प्रचण्डजीले न देशको हितमा काम गर्न सक्नुभयो न कार्यकर्ताको संरक्षण गर्न, ’ज्वालाकुमारीले भन्नुभयो, ‘समग्र देश र मधेसको हित नेकपा एमाले र केपी ओलीले गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । हामीले पार्टी परिवर्तन गर्दा पद रहन्छ कि जान्छ भन्ने हिसाब गरेका छैनौँ । म गौरवसाथ भन्छु ‘वि आर विथ केपी ओली ।’

विद्रोहको तयारीमा रहेका अर्का एक सांसदले माओवादीतिर आफ्नो मन छिनेको बताउनुभयो । ‘माओवादीसँग मन छिनेको छ तर एमालेसँग कसरी मन जोड्ने भनेर छलफल गर्दैछौँ,’ उहाँको भनाइ छ, ‘हामी राजनीतिक प्राणी भएकोले एमालेले कसरी व्यवस्थापन गर्छ त्यसअनुसार हामी निर्णय गर्दैछाैँ ।’

प्रदेश सांसदहरूसँगै स्थानीय तहका ठूलो संख्यामा जनप्रतिनिधिले विद्रोहको तयारी गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले दिएको जानकारीअनुसार प्रदेश २ बाट करिब १० जना मेयर, १२ जना उपमेयर र ४० जना जति वडा अध्यक्षहरू सामूहिक रूपमा एमालेमा समाहित हुने तयारीमा छन् ।

‘हामी सबै तहका साथीहरूसँग छलफलमा छौँ । हामीले पार्टी बदल्दा पोजिसन के हुन्छ ?, ’एक मेयर भन्नुहुन्छ, ‘हाम्रो पद सुरक्षित हुन्छ कि हुँदैन । हुँदैन भने एमालेले हामीलाई के कस्तो जिम्मेवारी दिन्छ । यी सबै विषयमा फागुन २८ गतेसम्ममा छलफल गरेर टुंगोमा पुग्छौँ ।’

विद्रोहको तयारीमा रहेका जनप्रतिनिधिका अनुसार राजनीतिक सुरक्षाको सुनिश्चतताका लागि विभिन्न तहका नेताहरूसँग उनीहरू परामर्शमा छन् ।

‘हामी रामबहादुर थापाको समूह र प्रधानमन्त्रीसँग पनि एक पटक छलफल गरेर निष्कर्षमा पुग्छौँ । यसका लागि हामी २८ गतेसम्ममा सबै कुरा टुंग्याउछौँ,’ विद्रोहको प्रदेश सभा सदस्यको भनाइ छ, ‘प्रभु साहजी प्रधानमन्त्रीसँगै रहनुहुने भएपछि हामीलाई निर्णय गर्न सजिलो हुने भएको छ । तपाईंले यसरी बुझे हुन्छ, वि आर विथ केपी ओली ।’