काठमाडौं- गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य राबहादुर थापा (बादल) नेकपा एमालेको उपाध्यक्ष बन्न सहमत हुनु भएको छ ।
बादलनिकट स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीसँगको भेटमा बादलले एमालेमा आफ्नो पोजिसन के हुने र कुन विचार अंगाल्ने भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो ।
‘प्रधानमन्त्रीले जवाफमा तपाई पार्टीको उपाध्यक्ष र पार्टीको सिद्धान्त पार्टीका बहुदलीय जनवाद (जबज) हुन्छ भन्नभएको रहेछ,’ स्रोतले भन्यो, ‘उहाँले सोचेर जवाफ दिन्छु भन्नुभएको रहेछ, आज प्रधानमन्त्रीको प्रस्तावमा उहाँ सहमत हुनुभयो ।’
बादल नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुनुहुन्छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि भने प्रचण्ड समूह परित्याग गर्दै उहाँ ओली पक्षमा खुल्नु भएकाे थियाे ।
आइतबारको सर्वोच्चको फैसलापछि नेकपा पूर्ववत अवस्थामा फर्किएपछि ओली पक्षमा देखिएका माओवादी केन्द्रका सांसद के गर्छन् भन्ने अन्योलका बीच बादल एमालेको उपाध्यक्ष बन्न तयार भएका हुन् ।
तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए । एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति हुनुहुन्छ ।
साथै, पूर्वमाओवादीका प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालगायत माओवादीका शीर्ष नेताहरू पनि एमालमै बस्ने सम्भावना बढी छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेता लेखराज भट्टले त आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना कम रहेकोसमेत बताइसक्नु भएको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आफू पार्टीमा फर्कने सम्भावना कम रहेको बताउनुभएको हो ।
‘समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौँ के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौँ,’ मन्त्री भट्टले भन्नुभयो ।
यो पनि : प्रदेश २ को माओवादीमा विद्रोह, ‘वी आर वीथ केपी ओली’ भन्दै पाँच सांसद एमालेमा
प्रतिक्रिया