अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

…ती भिडियो आफैं हेर्न सक्नुहुन्छ कमरेड !

…ती भिडियो आफैं हेर्न सक्नुहुन्छ कमरेड !


दुनियाँलाई थाहा छ, हिजो नेकपा हुँदादेखि नै हामीबीचको अन्तरविरोध उत्कर्षमा थियो ।

प्रतिनिधिसभाको विघटन हुन भन्दा अगाडि र पछाडि पनि भएका क्रियाकलापहरु एकपटक आँखा चिम्लिएर सम्झनु कमरेडहरु । मिडिया र सभामा आफैँले बोलेको भिडियो खोलेर सुन्नुहोस कमरेडहरु । पार्टीका निर्वाचित अध्यक्षलाई बारम्बार कारबाही गरेर गर्व गर्दै केपी ओली हाम्रो पार्टीको साधारण सदस्य पनि होइन भनेको सम्झनुहोस् कमरेडहरु । दशकौंदेखि सहकार्य गरेको सहयोद्धालाई १९ पृष्ठको संगीन आरोप लगाउँदा हाम्रो साझा दस्तावेज हो भन्दै हिंड्ने तपाईं कमरेडहरु, वैधानिक व्यवस्था र प्रक्रिया समेत हेक्का नराखी अत्यन्तै अपमानजनक तरिकाले दलको नेता परिवर्तन गरियो भनेको स्मरण गर्नुहोस कमरेडहरु, आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दश बिन्ती गरेको पनि सम्झनुहोस् ।

निर्वाचन आयोगलाई छिटो पार्टी फुटाएर आधिकारिकता हामीलाई दे भन्दै दबाब सृजना गरेको सम्झनुहोस कमरेडहरु, कमरेड केपी ओलीलाई पार्टी र कम्युनिष्ट आन्दोलनबाट अत्यन्तै अपमानजनक तरिकाले बहिर्गमन गराउने जस्ता निर्मम व्यवहार , यस्ता अनेकौं अनेकौं हर्कतबारे एकपटक एकान्त बसेर आत्मसमिक्षा गर्नुहोस् कमरेडहरु । सर्वोच्च अदालतले कानुनी रुपमा पार्टी अलग गरिदियो, तपाईंहरुलाई जोसँग बस्न मन थियो उसलाई अलग गरिदियो, जोसँग बस्नै मन थिएन उसँग एकै ठाउँमा जोडिदियो , सत्य यही होइन र रु?

पूर्ववत् पार्टीको रुपमा अलग हुनसाथ बिदाइ भएर पेरिसडाँडाबाट फर्कदै गर्दा नेकपा एमालेमा आफ्नो पोजिसन सशक्त हुने र ठूलो शक्ति लिएर फर्कने प्रतिबद्धता गर्नु भयो भन्ने कुरा जव बाहिर आएको छ, स्वयं प्रचण्डको मुखबाट समेत त्यही कुरा बोल्ने काम भएको छ जसले गर्दा केही आशंका हुनु स्वभाविक पनि हो । यी सबै कारणले गर्दा हाम्रा बीचका तिक्तता मेटिन र हार्दिकता कायम हुन केही समय लाग्ने कुरा स्वभाविक हो ।

यस्तो परिस्थितिमा सामान्य जिम्मेवारी हेरफेर हुने कुरालाई आकाश खसेको रुपमा लिएर फेरि अस्वस्थ खेल, छुट्टै भेला आदि इत्यादि गर्ने काम नगरौं कमरेडहरु । समिक्षा गरौं, बहस छलफल गर्दै महाधिवेशनमा जाऔं , महाधिवेशनसम्म जाँदा फाटेका मनहरु मिल्दै जानेछन्, आपसमा घुलमिल हुँदै पुरानो घाउ पुरिदै पनि जानेछ र हामी फेरि भावनात्मक रुपले एक हुने ठाउँमा पुग्नेछौं । एमालेका कार्यकर्ताको चाहना एकताबद्ध शक्तिशाली एमाले होस् भन्ने नै छ, देश जनता र कम्युनिष्ट आन्दोलनका लागि पनि शक्तिशाली कम्युनिष्ट पार्टी आवश्यकता नै छ ।

त्यसैले आवेग, उत्तेजना र घृणा होइन विवेकसम्मत ढंगले अगाडि बढौं अब आउने महाधिवेशनले सबै कुराको समस्या समाधान गर्ने निश्चित छ ।