अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीय नागरिकलाई कैद

कीर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीय नागरिकलाई कैद


सप्तरी- कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ ।

नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश रीता बखे्रलको इजलाशले गङ्गाधरलाई तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुई/दुई वर्ष कैद र १०/१० हजार जरिवाना, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र १० हजार जरिवानाको फैसला भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ की बिल्टीदेवी यादवको जग्गाधनी पुर्जामा उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गङ्गाधरको नागरिकतामा पनि उल्लेख भएको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपलेश्वरकी श्रीमती बिल्टीदेवी गङ्गाधरकै सासू हुन् ।

सामाजिक परम्परानुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गर्नुभएका गङ्गाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन् । सुभद्रादेवी भने डाक्नेश्रीस्थित माइत बस्ने गर्छिन् ।

सासूको नागरिकता नम्बर कीर्ते गरी आफ्नो बनाएका गङ्गाधरले मतदाता नामावली परिचयपत्रसमेत बनाई मतदान गर्दै आएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गङ्गाधरकै कीर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवबाट कात्तिक १६ गते उजुरी परेपछि प्रशासनले छानबिन गर्न लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरूको नागरिकता कीर्ते रहेको ठहर भएको हो ।