अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट सामान आयात गर्ने पाकिस्तानको तयारी

भारतबाट सामान आयात गर्ने पाकिस्तानको तयारी


इस्लामाबाद- पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ ।

पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार अबेर निर्णय गरेको जनाएको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरू बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो ।

साथै, भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गरिने छ भने कपास र धागोको परिमाण भने खुलाइएको छैन ।

पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ, र कोरोनाभाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाब अरू बढाएको छ ।

भारतले काश्मिरलाई दिइआएको विशेष दर्जा हटाएसँगै सन् २०१९ देखि पाकिस्तानले भारतसँगको व्यापार र कुटनीतिक सम्बन्ध निलम्बन गरेको थियो । दुवै मुलुकले आआफ्ना वरिष्ट कुटनीतिज्ञलाई फिर्ता बोलाउनुका साथै कन्सुलर कर्मचारीलाई देश निकाला वा फिर्ता गरिएको थियो ।

तर पछिल्लो केही समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पत्र आदानप्रदान भएका छन् । दुबै देशको साझा नदीका रुपमा रहेको इन्दु नदीको प्रयोगका सन्दर्भमा दुबै देशका वरिष्ट अधिकारीहरुबीच वार्ता पुनः थालनी भएको छ ।

ब्लूमबर्गले गत साता प्रकाशन गरेको एक समाचारमा युनाइटेड अरब इमिरेट्स (युएई) ले दुबै देशबीच वार्ता गराउन मध्यस्थता गर्ने जनाएको थियो ।

काश्मिर मामिलामा नयाँ दिल्लीको अडानमा कुनै परिवर्तन नआउँदै भारतसँग व्यापार किन खोल्न लागिएको भनी बुधबार सोधिएको प्रश्नमा पाकिस्तानी अर्थमन्त्री हमाद अजहरले जनताको भलाईका लागि सरकारले निर्णय गर्ने बताउनुभयो ।