अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्जेन्टिनाका राष्ट्रपतिलाई कोरोना संक्रमण

अर्जेन्टिनाका राष्ट्रपतिलाई कोरोना संक्रमण


ब्युनस आयर्स- अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड-१९ सङ्क्रमण भएको छ । कोभिड-१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड-१९ पोजिटिभ देखाएको बताउनु भएको छ ।

शुक्रबार ६२ वर्ष पुग्नुभएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रूपमा तन्दुरुस्त रहेको जनाउनुभएको छ ।
राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाउनु भएको थियो ।

उहाँले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाउनुभएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।

अर्जेन्टिनामा हाल कोभिड-१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।

अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।