अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीविरुद्ध लाग्ने स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्दै एमाले

पार्टीविरुद्ध लाग्ने स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्दै एमाले


रामेछाप- नेकपा एमालेले पार्टी हित विपरित काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई पनि कारबाही गर्ने भएको छ ।

नेकपा एमाले रामेछापले बुधबार पत्रकार सम्मेलन आयोजना गरी पार्टीनिर्देशन विपरित समानान्तर गतिविधिमा लाग्ने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी विखण्डन गर्ने खालका क्रियाकलाप नगर्न चेतावनी दिनुभयो ।

पार्टीको छाप र चिन्ह दुरुपयोग गरी विभिन्न बैठक, भेला तथा कमिटी गठन गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । ‘यो कार्य हामीलाई स्वीकार्य हुँदैन,’ उहाँले भन्नुभयो ।

नेकपा स्थापना दिवसको दिन कार्यक्रम गर्ने भनि माधव गुटले गरेको प्रचारका पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । रामेछापमा पार्टीको स्थापना दिवसको दिन एमालेले तीन लाल पार्क (गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल श्रेष्ठ) मा औपचारिक कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिको गतविधिलाई पार्टीले हेरिरहेको उहाँले बताउनुभयो । केही जनप्रतिनिधिहरु पार्टी नीति विपरितको क्रियाकलापमा संलग्न भएकाले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने समेत उहाँले बताउनुभयो ।

‘स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार जिल्ला कमिटीलाई छ, उहाँहरुको गतिविधि सच्चिएन भने हामी कारबाही प्रक्रिया थाल्छौँ,’ उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला पार्टी सचिव पुरुषोत्तम कँडरियाले नेकपा एमाले एउटा मात्र पार्टी भएको र त्यसको नेतृत्व केपी शर्मा ओलीले गरिरहनु भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।