अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा दैनिक कोरोना संक्रमण दर घट्यो

भारतमा दैनिक कोरोना संक्रमण दर घट्यो


नयाँ दिल्ली- कोरोना भाइरस (कोभिड-१९) महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोभिड-१९ बाट मृत्यु भएकाको संख्या २ लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमितको कूल संख्या २ करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

भारतमा गत जनवरीमा कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर, संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।