अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदललाई देवेन्द्र दाहालका पाँच प्रश्न

एमाले कार्यदललाई देवेन्द्र दाहालका पाँच प्रश्न


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका सदस्य देवेन्द्र दाहालले नेकपा एमालेमा जारी विवाद समाधानका लागि गठन भएको कार्यदललाई पाँचवटा प्रश्न सोध्नुभएको छ । कार्यदलका नाममा अन्त्यहीन बैठक भइरहे पनि त्यसको प्रतिफल के भयो भनेर एमालेजनले जानकारी नपाएको उहाँको भनाइ छ । उहाँले कार्यदलले पाँचवटा प्रश्नको उत्तर दिएर एमालेजन र जनतालाई स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभएको छ । दाहाल लेख्नुहुन्छ :

पार्टीमा नेताहरुको एकताको चर्चा भएको निक्कै लामो समय भइसकेको छ । दुवैतिरबाट केही साथीहरु लागि रहनु भएको छ । तर मैले के बुझ्न सकेको छैन भने उहाँहरु के विषयमा छलफल गरिरहनु भएको छ ? तपाईंहरु कार्यकर्ताहरुका निम्न कुराहरुको जवाफ दिएर मात्र वार्तामा बस्नु राम्रो हुन्छ ।

१. यदि जेष्ठ २ गतेको अवस्थामा जाने दुवैतर्फको सहमति हो भने अव अरु के कुरामा छलफल गर्नु पर्‍यो ? विधि पद्धतिको कुरा गर्नेले त्यही कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्दा हुँदैन ?

२. एमालेका नेता हौं भन्नेले आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेर पूँजीवादी वा हामीले प्रतिकृयावादी भनिएको कांग्रेसलाई प्रधानमन्त्री बनाउन लाज घिन नमानीकन सही गर्नेहरुले पहिलो नम्बरमै त्यो सही फिर्ता लिनु पर्ने होइन र ? त्यस बारेमा के प्रगति भयो ?

३. विभिन्न प्रदेशहरुमा हाक्का हाकी एमालेका विरुद्धमा लाग्ने अनि पार्टीले स्पष्टीकरण लिएर कार्यबाही गर्दा अदालतको साहारा लिएर लाज पचाएर पुनर्बहाली हुँदै फेरि एमालेकै सांसद भएर भत्ता खाने । विपक्षीको सरकार टिकाउन लाग्ने प्रदेशसभा सदस्यहरुले गरेको घिनलाग्दो हर्कतको बारेमा के छलफल भइरहेको छ ?

४. आजका दिनसम्म पनि एमाले नै हुँ भन्दै विपक्षी गठबन्धनको बैठकमा जाने, एमालेलाई सिध्याउँछु भन्दै कांग्रेस माओवादीसँग कसम खाँदै आउने माधव नेपालको घिनलाग्दो हर्कतको बारेमा के छलफल भइरहेको छ ?

५. अहिले एमालेको विवादलाई पार्टी एकता भन्ने गरिएको छ । पार्टी म प्रश्न गर्न चाहन्छु के को एकता ? को सँग एकता ? कुन पार्टी सँग एकता ? माधव नेपाल लगायतलाई त एमालेको साधारण सदस्य समेत नरहने गरी हटाई सकेको होइन ?

एमालेलाई कमजोर बनाएर मात्र कांग्रेसलाई बलियो बनाउन सकिन्छ भन्ने सोच भएका नेपालको गतिविधि पूर्णत: एमाले विरोधी छ । माओवादीसँग समाहित हुने कसम खानुभएका माधव नेपालको पछि नलागी अब ढिला नगरी पार्टी शुद्धीकरण र सुदृढीकरणमा लाग्नु नै श्रेयस्कर हुन्छ । नेपालको यो हर्कत बुझेका, उहाँका पछि लागेका जनतामा स्थापित युवा नेताहरुलाई भ्रममा नपरी केपी ओलीले नेतृत्व गरेको एमालेमा आ–आफ्नो कमाण्ड सम्हालेर अगाडि बढ्न हार्दीक अनुरोध गर्दछु । किनभने मुलुक र सम्बन्धित व्यक्तिकै लागि पनि राजनीतिमा कित्ता स्पष्ट गर्नु नै राम्रो हुन्छ ।