अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : विधेयकसम्बन्धी प्रस्ताव पारित

प्रदेश १ : विधेयकसम्बन्धी प्रस्ताव पारित


विराटनगर– प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को निमय ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताउनुभयो । उहाँले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका नागरिकलाई सरकारले कहिलेसम्म खोप लगाइसक्ने हो भनी प्रश्न गर्नुभयो । उहाँले प्रदेशमा कुनकुन खोप कति मात्रामा आएको हो भन्ने विषयमा पनि जानकारी माग गर्नुभयो ।

उहाँले प्रहरी समायोजन सम्बन्धमा प्रदेश सरकारले बनाएको विधेयक अहिलेसम्म कार्यान्वयन नहुनुका कारण पनि सरकारसँग माग गर्नुभयो । नेता कोइरालाले सुनसरी दुहबीदेखि इनरुवासम्मको १४ किमी बाटोलाई प्रदेश सरकारले प्रदेश गौरव योजनामा राखेर सडकको स्तरोनन्ति गर्न माग गर्नुभयो । उहाँले प्रदेश सरकारले विगतमा यहाँका नागरिकसँग गरेका सहमति अहिलेसम्म पनि पूरा नगरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको गिरी बन्धु टि स्टेटको २८० बिघा जग्गा साटापट्टा गर्ने निर्णय गरेकाले त्यो खारेज हुनुपर्ने माग गर्नुभयो । उहाँले हदबन्दीभन्दा माथिका जग्गा राज्यलाई फिर्ता हुनुपर्ने भूमि ऐनले व्यवस्था गर्दागर्दै पनि सरकारले यस्तो निर्णय गर्नु भूमाफियालाई पोस्ने काम हो भन्नुभयो ।

प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य इन्दिरा राईले कोरोनाको उपचार एवं रोकथाम स्थानीय तहमा पनि उचित ढङ्गले हुनुपर्ने माग गर्नुभयो । सदस्य लीला सुब्बाले विद्यार्थीलाई पनि कोरोनाको खोप लगाउनुपर्ने माग गर्नुभयो । सदस्य तुलसीप्रसाद न्यौपानेले महाकाली नदीमा जयसिंह धाँमी तुइनबाट खसी बेपत्ता भएकोे विषयमा सरकारले जानकारी दिनुपर्ने बताउनुभयो ।

सदस्य विष्णु तुम्बाहाम्फेले संविधानमा भएको व्यवस्थाअनुसार नै नेपाली जनताले समानुपातिकरूपमा राज्यको सुविधा उपभोग गर्नुपर्ने धारणा राख्नुभयो । सदस्य रामचन्द्र लिम्बूले सीमा क्षेत्रमा भारतीय पक्षबाट निकै ज्यादति भइरहेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।