अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्येष्ठ नागरिक बुढ्यौलीमा अक्षर चिन्दै

ज्येष्ठ नागरिक बुढ्यौलीमा अक्षर चिन्दै


दमौली– तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्नुहुन्थेन । नाम लेख्नपरे अरूको सहारा लिनुपथ्र्यो । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उहाँले आफ्नो नाम आफैँ लेख्न सक्ने हुनुभएको छ ।

रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियानमार्फत उहाँले आफैँले नाम लेख्न सक्ने हुनुभएको छ । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहनुभएकी उहाँले भन्नुभयो, “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।”

सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्नुहुन्छ । क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताउनुभयो । “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ,” श्रेष्ठले भन्नुभयो ।

इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित हुनुभएको छ । “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उहाँले भन्नुभयो ।

क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिनुभयो ।