अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा एमाले अध्यक्ष ओलीका ‘नोस्टाल्जिक’ पात्रहरु

झापामा एमाले अध्यक्ष ओलीका ‘नोस्टाल्जिक’ पात्रहरु


झापा– राजनीतिक भूमिगत र जेल जीवन अघि र पछि झापाको शरणामती, पृथ्वीनगर र दमकमा बसोबास गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउँदा सधैं ‘नोस्टाल्जिक फिल’ गर्नुहुन्छ । उहाँको नोस्टाल्जिक जेल भित्र र बाहिर दुवैतिरका छन् ।

तत्कालिन पञ्चायती व्यवस्थाका विरुद्ध कहिले चारपानेमा प्रधानपञ्च विरुद्ध विद्रोह गर्ने त कहिले गरामुनीमा किसानको पक्षमा माहोल सृजना गर्ने अभियानमा केपी ओली हुनुहुन्थ्यो । त्यस क्रममा रामनाथ दाहाल र नेत्र घिमिरेहरुको संगतमा परेपछि ओलीको राजनीतिक गतिविधि थप सशक्त भएको स्वंय ओली बताउनुहुन्छ । आठराई छातेढुंगाबाट भर्खर झरेको ठिटोले पञ्चायत विरोधी राजनीतिक लय समाएपछि उहाँको पछि लाग्ने थुपै्र झापाली युवाहरु भए ।

ती युवाहरुले कसरी राजनीतिक विद्रोह गर्थे,कसरी भेष बदलेर पुलिसको सुराकी गर्थे भन्ने रमाइला किस्सा उहाँले सुनाउने गर्नु भएको छ । त्यसबेला मुख्य गरेर आफूले धैर्यता गरेर झापा आन्दोलन जोगाएको ओलीको भनाइ छ । पुस १० गते ओलीले झापा आन्दोलनको सारलाई यसरी स्मरण गर्नुभयो । ‘हामीले आन्दोलन गरेको आधा शताब्दीभन्दा बढी भइसक्यो । कहिले भूमिगत, कहिले जेल ती सबै परिस्थितिहरुमा हामीले धैर्यता गर्‍यौं,’ ओलीले भन्नुभयो, ‘म आफँैले पनि र मेरा साथीहरुले पनि मरिहालिएछ भनेपनि त्यसपछिको जिम्मा बाँच्नेहरुको हो ।’

ओलीले झापा आन्दोलन धैर्यताको उपज भएको भन्दै त्यस पृष्ठभूमिबाट आउनेहरुलाई सलाम भन्नुभयो । ‘बाँचिएछ भने देशका लागि समर्पित भएर इमान्दारिताका साथ काम गर्ने हो र देशमा परिवर्तन ल्याइ छोड्ने हो भन्ने अठोटका साथ हामी लागेका थियौं,’ ओलीले भन्नुभयो, ‘झापा आन्दोलनका पृष्ठभूमिबाट आएका साथीहरुलाई म फेरि एकपटक सलाम भन्न चाहन्छु ।’

त्यसबेलाका पात्रहरुको स्मरण गर्नुभन्दा पहिला ओलीले त्यसबेलाको प्रवृतिको चित्रण गर्नुभयो । त्यती बेला एकथरी योद्धाहरु धैर्य गर्ने व्यवस्थाका विरुद्ध कहीं कतै सम्झौता नगर्ने प्रकृतिका थिए भने अर्कोथरी बाहिर बाहिर व्यवस्थाका विरुद्ध भिड्ने भित्र भित्र पुलिसलाई नै सुराकी र गर्ने पञ्चायतसँग सम्झौता गर्ने प्रवृति थियो । ‘नेपालका विभिन्न समयका आन्दोलनमा जस्तै झापा आन्दोलनमा पनि झुक्ने, अनुचित सम्झौता गर्ने, भित्री सम्झौता गर्ने, गोप्य सम्झौता गर्ने, भित्रभित्र लतारिने, बाहिर बाहिर ठूला कुरा गर्ने यो चलन धेरै चल्यो,’ ओलीले भन्नुभयो ।

झापा आन्दोलनमा भित्र भित्र झुक्ने,लतारिने पात्रहरु पनि रहेछन् । त्यस्ता पात्रहरुको नेतृत्वहरु स्वंय आरके मैनालीले गर्ने गरेको कुरा ओलीले पुष १० गते खुलासा गर्नुभयो । मैनाली तत्कालिन व्यवस्थासँग कागज गरेर जेलबाट छुटेको ओलीले यसरी बताउनुभयो —

अनुचित सम्झौता गरेर आरके छुटे…
‘झापा आन्दोलनले भित्रभित्र लतारिने, अनुचित कागज गर्ने त्यस्ता काम गरेन । झापा आन्दोलनमा कागज गरेर जेलबाट छुटेका एकजना मात्र नेता हुन् राधाकृष्ण मैनाली,’ ओलीले भन्नुभयो, ‘अरु कसैले पनि कागज गरेन ।’ भन्न नहुने हो, अघि मैले एउटा नाम फ्याट्ट लिइहाले । हामी दुईवटैलाई छोड्न भनेर ल्याएको थियो । छोड्थ्यो । छोड्नै ल्याएको थियो । यसो फकाएपछि उहाँले कागजमा छ्यास्स सही गर्दिनु भयो र उहाँ छुट्नुभयो । त्यसपछि मलाई च्याप्न थाल्यो । मैले अब उप्रान्त सही नै गर्दिन भनेपछि मलाई दुई महिना राखेर फेरि जेल पठायो । छोड्न ल्याएको मान्छेलाई फिर्ता लग्यो ।

मंगल सुनुवारका नाममा मंगल सतार पक्राउ परेपछि …..
ओलीले भने अनुसार परिवन्दमा परेर झापा आन्दोलनमा अर्का एकजना पात्र मिसिएका थिए मंगलमणि सतार ।गाउँमा खेती किसानी गरेर बसेका सतारको नाम त्यसबेलाका विद्रोही मंगल सुनुवारसँग मिल्थ्यो । पञ्चायत विरोधी गतिविधीमा संलग्न भएको आरोपमा जेल बसिसकेका सुनुवारलाई खोज्न प्रहरी अर्जुनधारा बुधबारेतिर गएछ । ‘मंगल सुनुवार कता छ भनेर प्रहरीले गाउँलेलाई सोधेछन् । उनीहरुले खेत जोतिरहेको मंगल सतारलाई देखाइदिएछन्’ ओलीले भन्नुभयो । मंगल सुनुवारको ठाउँमा मंगल सतार पक्राउ परेर १६ बर्ष जेल झण्डै ५० वर्ष अघिको घटना ओलीको मानसपटलमा यसरी बसेको रहेछ — मंगलमाणि सतार हाम्रो पार्टीसँग संलग्न हुनुहुन्थ्यो । उहाँलाई एकजना भोजपुरका सुनुवार जातिका गोरो अलिक अधवैशे उमेर हुन लागेका साथी हुनुहुन्थ्यो, मंगल सुनुवार । उहाँ वारेण्टेड हुनुहुन्थ्यो । उहाँलाई खोज्न जाँदा मंगल यतातिर छ रे नि भन्दा, मंगल त्यहीँ खेत जोतिराखेको छ भनेर देखाइदिए । मंगल सुनवार अलिक उमेर ढल्किन लागेका । ४५ वर्षको जस्तो हुनुहुँदो होला उहाँ । मंगलमणि सतार २०/२१ वर्षको ठिटो । मंगल सुनुवार ५ फिट २ इन्च जतिको उचाइ । मंगलमणि सतारको झण्डै ६ फिटको उचाइ । मंगल सुनुवार पहाडिया मूलको, मंगल सतार, सतार जातिको । मंगल सुनुवार अनेक हिसाबले कि १० वर्ष त जेल खटेर आएको मान्छे । मंगलमणि सतार त १० वर्ष जेल बस्न भ्याउने समय नै भएको थिएन उहाँको । २०/२१ वर्षको । त्यस्तो मान्छेलाई मंगल सुनुवार भनेर समातेर लगेर बलजफ्ती यातना दिएर फकाइ फकाइकन सही गरायो । र, २० वर्ष कैद फैसला गर्‍यो ।

मंगल सतारबारे

‘मंगल सुनुवार कता छ भनेर प्रहरीले गाउँलेलाई सोधेछन् । उनीहरुले खेत जोतिरहेको मंगल सतारलाई देखाइदिएछन्’

मैले सही गर्दा झापा आन्दोलनको इज्जत जान्छ कि !
पञ्चायती व्यवस्थाले मंगलमणि सतारलाई फकाएर राजा व्यवस्था मान्छु भन्ने सही गराउन साह्रै कोसिस ग¥यो । मंगलमणि सतारले सोझो पाराले कुरा गरेर जवाफ दिने । म त राजनीतिमा लागेको मान्छे होइन, सोझो मान्छे, गाउँको हलो जोत्दा जोत्दै ल्यायो । किन ल्यायो कुन्नी ? समातेर यहाँ राख्यो । मैले यहीं आएर अक्षर चिनेको हो, यसो सही गर्दा मेरो के बिग्रिन्छ र मेरो के इज्जत छ र तर मलाई सही गर्न केही छैन, कुनै अप्ठ्यारो छैन । तर झापा आन्दोलनको इज्जतमा धक्का पर्छ कि, त्यसकारण मैले सही गर्न हुँदैन कि । म हाम्रो मास्टरलाई सोध्छु है त के गर्नु पर्छ भने । अब मास्टरले त कहिल्यै पनि सही गर त भन्दैन । त्यसो भएर मंगलमाणि सतारले पनि जो हामीसँग संलग्न हुनुहुन्थ्यो, १८ वर्ष जेल बस्नु भयो । एउटा छ्यास्स सही गरेर छुट्न मान्नु भएन । झापा आन्दोलनको स्कूलिङ त्यो हो । प्रशिक्षण त्यो हो । लाइन त्यो हो । जो मर्न जान्दछ, झुक्न जान्दैन । सही कुराका लागि लड्न जानेको छ, आवश्यक परे जीवन दिन तयार हुन्छ तर इमान बेच्न तयार हुँदैन ।

छापामार शैलीका भाषणबाज प्रेमप्रकाश ओली
ओलीले इतिहास नविर्सन झापालीहरुलाई आग्रह गर्नुभएको छ । हामीले इतिहास बिर्सनु हुँदैन । म सम्झिन्छु । अहिले विर्तामोडमा बसोबास गरिरहनु भएका पुराना कम्यूनिष्ट नेता प्रेमप्रकाश ओलीका बारेमा अध्यक्ष ओलीका सम्झना यस्ता रहेछन्— मेरा पुराना साथीहरु । पहिले पहिलेदेखिका साथीहरु यसो हेर्छु । म साथीहरुलाई भन्न चाहन्छु । अहिले भर्खर यहाँ लौरो टेकेर जानुभयो एकजना साथी । प्रेमप्रकाश ओलीज्यू हुनुहुन्छ उहाँ । प्रेमप्रकाश ओलीजी हामी झापा आन्दोलनभन्दा अगाडि पार्टीको एउटै कमिटीमा थियौं । झापा आन्दोलनभन्दा अगाडिका चर्चित सभाहरु हुने गर्दथे यहाँ । र, छापामार शैलीका भाषणहरु हुने गर्थे । त्यस्ता भाषण उहाँले गर्नुहुन्थ्यो ।

२७ सालमा विष्णु प्रसाईं र म सँगै पक्राउ परेका
ओलीले अर्का पात्र विष्णु प्रसाईं पक्राउ परेको तिथीमिति नै भनिदिनुभयो । बागमती प्रदेशका पूर्व प्रमुख प्रसाईंका बारेमा ओलीका सम्झना यस्ता रहेछन्- विष्णु प्रसाईंजी अघिल्लै लाइनमा देख्छु । २०२७ साल फागुन १६ गते आइतबार बिर्ताबजारको हाइस्कुलबाट उहाँ र म सँगै पक्राउ परेका थियौं । २०२७ साल भनेको ५१ वर्ष अगाडि ? उहाँ म भन्दा अलिक छुच्चो भएको हुनाले पुलिससँग अलिक भिड्नु भयो । अलिक बढी कुट्यो पुलिसले । म त्यति छुच्चो नभएको हुनाले पुलिससँग त्यति भिडिनँ । कुटाइ पनि कम खाएँ । उहाँ अलिक बढी भिड्न खोज्नु भयो । अलिक पिटाइ खानु भयो ।

गुरु महाराजका दारी काट्दा, मनकुमारको भेद खुल्यो
जेलमा छँदा मनकुमार गौतम कसरी छद्म भेषी भएर कोठा कोठा र व्यक्ति व्यक्तिको रिर्पोटिङ गर्नुहुँदो रहेछ भन्ने कुरा पनि ओलीले आम कार्यकर्तालाई सुनाउनुभयो । मञ्चमै बसेका मनकुमारको मुखमा हेर्दै ओलीले भन्नुभयो— मनकुमार गौतमजी यहीँ हुनुहुन्छ । उहाँ २०२९ साल पुषमा गिरफ्तार हुनु भएको हो । उहाँ बाबाजी गुरु महाराज हुनुहुन्थ्यो । साथीहरु जेलमा हुनुहुन्थ्यो, हँ एसपी बता गो तु हुम । यसो टिका लगाइदिन जानु हुन्थ्यो । अनि एसपीले पनि साधु महाराज ठीकै होलान् भन्थे । साधु महाराजा कमरेड चाहिँ त्यहाँ गएर सबै स्थिति बुझेर कति साथीहरुले कुटाइ खाए, के भए बुझेर आउने । आयुषमान रहो बेटा, आयुषमान रहो भनेर उहाँले आशिर्वाद दिँदै हुनुहुन्थ्यो । पछि कुरो थाहा भएछ । थाहा भएपछि समातेर उहाँका दाह्री सफाचैट…। सबैलाई बेटा भन्ने त आफैँ बेटा पो…। ठिटो मान्छे त्यतिबेलाको २०÷२१ वर्षको थियो कि । बालबम्ह्रचार्य के के हो उहाँका । त्यसबेला उहाँको शैली तुम् भन्ने थियो । अच्छा बेटा तुम् भन्ने । जेहोस्, म सम्झिराखेको छु, २०२९ साल माघमा पक्राउ पर्नुभयो । त्यसपछि २०४६ साल पुस १९ गते जेलबाट बल्ल छुट्नु भयो ।

छापामार शैलीका सूर्य उप्रेती
सूर्य उप्रेतीजी चर्चित वक्ता हो त्यसबेलाको । सबैले त चिन्नु पनि हुन्न होला । उहाँ बिर्ताबजारको २०२७ सालको एउटा भाषण अत्यन्तै चर्चित रहेको थियो । कडा सुरक्षा घेरा थियो । उहाँ अचानक मञ्चमा फुत्त निस्कनु भयो । सूर्य उप्रेतीले जोडदार तेजतरार भाषण गर्नुहुन्छ भनेपछि उहाँ निस्कनु भयो । उहाँले तेजतरार नै भाषण गर्नुभयो । भाषण सकेपछि यसो पछाडितिर लागेको जस्तो भएको थियो, सूर्य उप्रेती छैन । त्यती छापामार शैलीका । २०२९ साल जेठमा उहाँको घरमै म बास बसेको थिएँ । राती घर पुलिसले घेर्‍यो । म पनि गएर बसेको हुनाले घेरेको हो कि अरु थोक नै हो तर घेर्‍यो । बिहान उहाँलाई समातेर लैजान खोज्यो । घैलाडुबाबाट अलिक वरतिर ल्याएपछि मैले साथीहरु पठाएँ । सूर्यजीलाई फिर्ता लिएर आउनुस् भनेर । साथीहरुले प्रहरीलाई सम्झाइ बुझाइ फिर्ता ल्याउनु भयो ।

पक्राउ परेका जयप्रसादलाई मैले फिर्ता ल्याएँ
जयप्रसाद उप्रेती भन्ने साथी हुनुहुन्थ्यो, उहाँलाई चारपानेभन्दा अगाडि मेयर धुव्र शिवाकोटीको..माछा पोखरीको छेउछाउतिर होला । त्यहाँसम्म गिरफ्तार गरेर लगिसकेको थियो, फेरि साथीहरु पठाएको प्रहरीले छोडेन । त्यसपछि म आफैँ गएँ । आफैँ गएर हाम्रो साथीहरुलाई समाउने होइन, यो ठाउँमा समाउन मिल्दैन । यहाँ समाउने ठाउँ होइन, फर्किएर जाउ भनेर फर्काएर पठाइयो । अनि हामीले फिर्ता ल्यायौं ।

महेशपुर सुस्ता आन्दोलनका साथी हरिचरण
हरिशचरण शिवाकोटी, उहाँ व्यस्त हुनुहुन्छ र अहिले पनि सक्रिय हुनुहुन्छ, तपाईंहरुलाई थाहै छ । मैले उहाँलाई २०२५ सालदेखि राम्ररी चिन्छु । किनभने सुस्ता, महेशपुरसम्बन्धी आन्दोलनमा हामी सँगै लागेका थियौं । उहाँपनि मभन्दा अलिक छुचै हो । उहाँ अलिक बढी अगाडि जानुभयो, उहाँको टाउँकोमा लाठ्ठी लाग्यो । मलाई चाहिँ त्यतिबेला लागेको थिएन । म चाहिँ गिरफ्तार परें । उहाँचाहिँ हस्पिटल जानुभयो । एकछिन पछि हामीलाई छोड्यो, उहाँलाई हेर्न गएको खास धेरै चोट लागेको रहेनछ तरपनि पट्टी बाँधेर आराम गरिराख्नु भएको रहेछ । पछि हामीले उहाँलाई छुटाएर ल्यायौं ।

३४ वर्षका मोहनचन्द्र र ३२ बर्षका रामनाथ पाका मान्छे !
पुरानो आन्दोलनको लामो इतिहास छ । जहाँ देशमा केही पनि हुँदैन्थ्यो, त्यसबेला ठिटाहरुको, अहिले त ठिटाभन्दा अचम्म लाग्छ । त्यसबेला यहाँका ठिटाहरु चाहिँ देशभरिमा चर्का ठिटाहरु थिए । जसले देशमा कहीँ पनि नभएको आन्दोलन गर्दथे । देशमा कहीँ पनि हुँदैन्थ्यो, कुनै पार्टीबाट त्यसबेला ६ महिना वा वर्ष दिनमा एउटा पर्चा फ्याक्ने काम पनि हुँदैन्थ्यो । यत्रो पार्टी कसैको भएत सबैले नगरा बजाइहाल्थे होला, कसैको थिएन । हामीले ३४ वर्षका उमेर भएका हुनाले मोहनचन्द्र अधिकारीलाई अलिकति पाको मान्छे हामीसँग चाहिन्छ भनेर ३४ वर्षकालाई खोजेर थमाएर राख्यौं । हाम्रा मुख्य नेता रामनाथ दाहाल, उहाँको उमेर ३२ वर्षको थियो । ३२ वर्षका भनेको हाम्रा धेरै सिनियर, पाका मान्छे भित्र पर्दथे । त्यो खालको स्थिति थियो ।