अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिरा केसीः सौराहाबाट रित्तो फर्के, बागलुङमा माला पहिर्‍याइए

हिरा केसीः सौराहाबाट रित्तो फर्के, बागलुङमा माला पहिर्‍याइए


बागलुङ– एमाले युवा नेता हिराबहादुर केसी चितवनको सौराहामा डेढ महिनाअघि भएको महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी हुनहुन्थ्यो । केसीले व्यक्तिगतरुपमा आफूमात्र होइन युवाहरुको प्रतिनिधित्व बढाउन काठमाडौं केन्द्रित भएर अभियान नै छेड्नुभयो ।

केसीको अभियानका सारथीहरु किशोरविक्रम मल्ल, ईन्द्रलाल सापकोटादेखि ऐन महरसम्म निर्वाचित र मनोनीत केन्द्रीय सदस्य हुनुभयो । प्रदेश अध्यक्षका लागि ‘रिजर्ब’ राखिएको भनिए पनि केसीलाई छुटाइयो ।

सौराहाबाट बागलुङ फर्केलगत्तै केसीले फेसबुकमा सांकेतिकरुपमा लेख्नुभयो–

रित्तो भाँडा बोकेर हिँड्यो भन्दैमा
माग्न हिँडेको नसम्झनु
सबै कुरा दिएर रिक्तो फर्केको
पनि हुन सक्छ ।

केन्द्रीय सदस्यमा नपरेकामाथि अनेक कोणबाट खोजवीन सुरु भएपछि केसीले फेसबुकमा स्टाटस कोर्नुभएको थियो ।

बागलुङ फर्केपछि पनि केसीको पार्टीप्रतिको निष्ठा, नेतृत्वप्रतिको आदर र कार्यकर्ताप्रतिको दायित्व टुटेन । झन् बढी पार्टी काममा क्रियाशील हुनुभयो । उहाँले भन्नुभएको थियो, ‘पद भनेका आउँछन्, जान्छन् । समाज र मातृपार्टीप्रतिको जिम्मेवारी जुन तहमा रहे पनि इमान्दारितापूर्वक पूरा गर्नुपर्छ ।’

यही बीचमा केसीको केन्द्रीय कमिटीको यात्रा रोकिएकोमा जिल्लाभित्र र प्रदेशभित्र पनि छलफल र बहसको विषय बन्यो ।

महाधिवेशनपछिको पहिलो जिल्ला अधिवेशनमा कार्यकर्ताले केसीलाई जिल्ला अध्यक्षको माला पहि¥याए । त्यसो त वरीयतामा केन्द्रीय सदस्य उपल्लो पद रहे पनि कार्यकारी पद जिल्ला अध्यक्ष हो । केसीलाई पनि केन्द्रीय सदस्यमा रोकिएर पार्टीको जिल्लाको बागडोर लिन पाएकोमा खुसी लागेको छ । ‘कार्यकारी जिम्मेवारी हुने अवसर पाएको छु,’ विजयी जुलुसबीच केसीले योबेला डट कमसँग भन्नुभयो, ‘बागलुङमा एमालेलाई पहिलो दलको रुपमा कायमै राख्न मेरो सम्पूर्ण समय खर्च गर्छु ।’

तीन जनाबीच भएको प्रतिस्पर्धामा ३ सय २९ मत ल्याएर केसी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत पाउनुभएको थियो ।

आइतबार भएको निर्वाचनमा ६३६ मतदातामध्ये ६०२ मत मात्रै खसेको थियो ।

युवा संघका पूर्वउपाध्यक्षसमेत रहनुभएका केसी एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।