अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको सम्बोधनप्रति एमाले प्रतिक्रिया– ‘ओली सरकारको काम जस लिइयो, आफ्ना कमजोरी लुकाइयो’

प्रधानमन्त्रीको सम्बोधनप्रति एमाले प्रतिक्रिया– ‘ओली सरकारको काम जस लिइयो, आफ्ना कमजोरी लुकाइयो’


काठमाडौं– संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर आफ्ना कमजोरी लुकाउने प्रयास गरेको बताएको छ ।

महासचिव शंकर पोखरेलले देशमा आर्थिक संकट गहिरएको बिषयलाई लुकाएर प्रधानमन्त्रीले झन् ठूलो संकट निम्त्याउन खोेजेको प्रतिक्रिया दिनुभयो । ‘देश आर्थिक रुपमा संकटमा छ तर प्रधानमन्त्रीले सम्बोधनमा उक्त तथ्यलाई छोप्नु भयो,’ पोखरेलले योबेला डट कमसँग भन्नुभयो ‘यो झन् ठूलो संकटको संकेत हो ।’

कोभिड महामारीको नियन्त्रण,खोप रअन्य औषधिको उपलब्धतामा प्रधानमन्त्री गम्भीर नदेखिएको पोखरेलको आरोप छ । ‘अहिलेको महामारीमा १८ बर्ष भन्दा मुनीका बालबालिका सबभन्दा जोखिममा छन् । उनीहरुलाई खोप उपलब्ध छैन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘चैत भित्र सबै जनतालाई खोप लगाउँछु भन्ने प्रधानमन्त्रीले यसको कुनै कार्ययोजना दिन सक्नुभएन ।’

विगतका सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेर प्रधानमन्त्रीले आफूले जस लिन खोजेको पोखरेलले बताउनुभयो । ‘ओली सरकारले काम गर्न सकेन भन्ने प्रधानमन्त्री देउवाले ओलीको पालामा भएका कामको परिणाम देखाएर जस लिन खोज्नु भएको छ,’ पोखरेलले भन्नुभयो, ‘अर्काले गरेको काम देखाएर आफ्नो कमजोरी लुकाउने प्रयास मात्र हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै । तस्बिर : रोशन सापकोटा/रासस

अर्थ मन्त्रालयमा नीतिगत भ्रष्टाचार हुँदा समेत प्रधनमन्त्रीको सम्बोधनमा केही नआउनु सुशासनप्रति उहाँको उदासिनता हो भन्ने कुरा पुष्टि भएको पोखरेलको भनाइ छ । कोभिडले सृजना गरेको आर्थिक सामाजिक संकटका बारेमा पनि प्रधानमन्त्रीले कुनै दृष्टिकोण दिन नसक्नु सरकार जनताप्रति गम्भीर छैन भन्ने उदाहरण भएको महासचिव पोखरेलको प्रतिक्रिया छ ।

अर्को कुरा निर्वाचन आयोगले प्रस्ताव गरेका निर्वाचनका मितिमा प्रधानन्त्री मौन बस्नु सरकारले निर्वाचन चाहेको छैन भन्ने कुराको सहज पुष्टि भएको महासचिव पोखरेलको भनाइ छ ।

एमाले उपमहासचिव विष्णु रिमालले चुनावको बारेमा प्रधानमन्त्रीले सैद्धान्तिक कुरा मात्र गरेको बताउनुभयो । उपमहासचिव रिमालले ‘प्रधानमन्त्री मिठो कुुरा गरेर भागेको’ प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको संम्बोधनमा संसदको गतिरोध फुकाउने विषयमा स्पष्ट भिजन आउनु पर्नेमा त्यो नआएको रिमालको भनाइ छ । ‘प्रमुख प्रतिपक्षी दलले संसदमा राखेको मागका बारेमा प्रधानमन्त्रीको ठोस प्रतिबद्धता आउनुपर्थ्यो त्यो आएन,’ रिमालले भन्नुभयो, ‘प्रधानमन्त्रीको सम्बोधनले समस्याको गाँठो फुकाउने भन्दा पनि गाँठो कसिलो बनाउने काम गरेको छ ।’

प्रधानमन्त्रीले विकासका कामको फेहरिस्त प्रस्तुत गरे पनि पुँजीगत खर्च १३ प्रतिशत मात्र हुनुले उहाँले गरेका तर्क आफैँ खण्डित गरेको रिमालको भनाइ छ ।