बिर्तामोड – झापामा २८६ मतदान स्थल निश्चित भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार ७६० मतदान केन्द्रहरु हुने अनुमान गरिएको छ । मतदान स्थल र केन्द्रहरुको अध्ययन, अवलोकन गर्ने काम सम्पन्न भइसकेको छ ।
२०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी गरिरहेको नेपालले जानकारी दिनुभयो । चैत १३ मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि मतदान केन्द्रहरु निश्चित हुने उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक कामलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । निर्वाचन अधिकारी नेपालका अनुसार मतदाता नामावली अध्यावधिकको काम समेत सम्पन्न भइसकेको छ।
नेपालले भन्नुभयो, बसाईसराई गएका, आएका, मृत्यू भएका र विवाह गरी गएका–आएका मतदाताको नामावली अध्यावधिक गरिन्छ । सो अध्यावधिक गरिएको नामावली नै अन्तिम हुने भनाइ छ ।
निर्वाचन आयोगले जिल्लालाई वैशाख ३० गतेका लागि आवश्यक सामग्री पठाएको छ । पठाउँन बाँकी सामग्री पनि केही समयमै आइपुग्ने निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामै खरिद गर्नुपर्ने सामग्री यहि खरिद गरिनेछ, नेपालले भन्नुभयो ।
निर्वाचनका लागि आवश्यक सामग्रीहरु मतदान केन्द्रहरुमा वैशाख २७ गते पठाइने छ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाई छ । यस्तै, वैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ ।
वैशाख ११ देखि १७ गतेसम्म निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन, उम्मेद्वारहरुको नामावली प्रकाशन, दावी विरोध, छानविनपछिको अन्तिम नामावली प्रकाशन, उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यालयले जनाएको छ ।
जिल्लामा स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । यस्तै, निर्वाचन लक्षित सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय झापाले योजना कार्यान्वयन गरिरहेको बुझिएको छ । झापामा ६ लाख ५० हजार २५८ मतदाता संख्या रहेको छ । त्यसमा अन्य ९ जना रहेका छन् ।







प्रतिक्रिया