अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्मती प्रदेशको बैठक छाडेर किन काठमाडौं फर्कनुभयो प्रमुख बालेन-उपप्रमुख सुनिता ?

बाग्मती प्रदेशको बैठक छाडेर किन काठमाडौं फर्कनुभयो प्रमुख बालेन-उपप्रमुख सुनिता ?


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले बागमति प्रदेश सरकारले स्थानीय तहका लागि आयोजना गरेको अभिमुखीकरण बैठक छाडेर काठमाडौं फर्कनुभएको छ ।

बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण’ नाममा आयोजना गरेको कार्यक्रम आजसम्म चल्ने भए पनि काठमाडौंका मेयर र उपमेयर हिजै फर्कनु भएको हो ।

प्रदेश सरकारले हेटौडामा आइतवारदेखि तीन दिनको लागि बैठक आयोजना गरेको थियो । तर मेयर साह र उपमेयर डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर काठमाडौं फर्किनुभएको हो । तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुग्नुभएका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै फर्किनुभएको हो ।

मेयर बालेनले काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताउनु भयो ।

‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो,’ मेयर बालेनले बैठक छाडनुको कारण स्प्ष्ट पार्दै विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ-कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।’

उहाँले काठमाडौं राजधानीमात्र नभई कसैको जन्मभूमि र कर्मभूमि समेत भएको बताउनु भएको छ । बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताउनु भएको छ ।

सोमबार बेलुकी बालेनले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ भन्दै ब्यंग्य गर्नुभएको थियो ।

काठमाडौंकी उपमेयर सुनिता डंगोल पनि मेयरसँगै अभिमुखीकरणमा सहभागी हुनु हुनुहुन्थ्यो । उहाँ पनि हिजै फर्किनु भएको छ । कार्यक्रमका विषयमा उहाँले कुनै धारणा सार्वजनिक गर्नु भएको छैन ।