अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन


मोरङ – मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा भएको जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो । यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ ।

सन् २०२४ सम्ममा सम्पन्न हुनुपर्ने यो अभियानका लागि देशभार सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उहाँले दिनुभयो । प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ ।

यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण सङ्कलन भइसकेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताउनुभयो ।