सिड्नी – प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सिड्नीमा सम्पन्न पाचौं अधिवेसनले आगामी तीन वर्षका लागि केशव जोशी नेतृत्वमा कार्यसमिति चयन गरेको छ । सिड्नीको अबर्नमा दुईदिन चलेको अधिवेशनले जोशीको अध्यक्षतामा उपाध्यक्ष बालगोपाल उपाध्याय, चीन नेपाली र राम घिमिरे भएको कमिटी बनाएको हो ।
कमिटीको सचिवमा प्रकाश पन्थी चयन हुनु भएको छ भने सहसचिवमा असिम कोइराला, होमनाथ निरौला, हेमराज खनाल निर्वाचित हुनुभएको छ । सर्वसम्मत कमिटीको आर्थिक विभाग प्रमुखमा दिपक पहारी निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमितिका सदस्यहरुमा अष्ट्रेलियाको आठै राज्यका अध्यक्षहरु पदेन सदस्य रहनेछन् भने अधिवेशनले प्रकाश पौडेल,नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, , प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डेलाई निर्वाचित गरेको छ ।
बन्द सत्रले गएको कार्यकालमा गरिएका गतिविधि, आर्थिक विवरण लगायतको प्रतिवेदन पारित गरेको छ भने पहिलो बैठकबाट नै आफ्ना सदस्यहरुलाई नेतृत्व विकास र सामाजिक दायित्वका विषयमा तालिम प्रदान गर्ने पनि निर्णय गरेको छ । यस्तै आगामी कार्तिकको अन्तिम साता नेपालमा हुन लागेको प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत सफलतापूर्वक सम्पन्न गर्न र सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नेगरी क्रियाशील हुने समेत निर्णय गरेको छ ।
आईतबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका प्रवास विभाग ईन्चार्ज डा. राजन भट्टराईले अबको निर्वाचनमा नेपाली राजनीतिका केही खराब प्रवृत्तिहरुलाई हराउनतर्फ लाग्नुपर्ने धारणा राख्नु भएको थियो । यी प्रवृत्तिले देशलाई लामो समयदेखि यथास्थितिमा राख्ने र अझ पश्चगमनतर्फ, अराजकतातर्फ लैजाने क्रम बढेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वमा आगामी सरकार निर्माण गर्नका लागि प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको अवस्थामा अब जनताल आगामी प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा कि केपी शर्मा ओली दुईबीचमा छान्नुपर्ने अवस्था आएको धारणा राख्नु भएको थियो । नेपालको निर्वाचनमा वैचारिक स्पष्टता र देशभक्तिपूर्ण क्रियाकलापलाई केन्द्रमा राखेर निर्णय गर्ने कार्यमा सघाउन प्रवासीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा डा। भट्टराईको थियो ।
उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष केशव जोशीले कमिटीमा आइसकेपछि लिएको जिम्मेवारी ईमान्दारीपूर्वक पूरा गर्ने कार्यले नै अन्य साथीहरुलाई समेत उत्साह दिने भएकोले यसमा कमिटीमा निर्वाचित सबैजना सजग बन्नुपर्ने धारणा राखेका थिए ।
उक्त अवसरमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, सल्लाहकार परिषद् प्रमुख सन्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, ईन्चार्ज डा. विनोद श्रेष्ठ, एनआरएन आईसीसीका सचिव होम पाण्डे लगायतले शुभकामना दिँदै अष्ट्रेलियाको नेपाली समूदायबीच क्रियाशील संस्थको रुपमा प्रवासी नेपाली मञ्च अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । अधिवेशनमा सहभागी हुन अष्ट्रेलियाका आठवटै राज्यबाट प्रतिनिधिहरु सिड्नी आइपुगेका थिए । ।






प्रतिक्रिया