अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ  : प्रधानमन्त्री देउवा

मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ  : प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताउनभुयो । उहाँले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राख्नुभयो । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उहाँले भन्नुभयो, “तर कर्मचारी ९तपाई०हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।” उहाँले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताउनुभयो । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताउनुभयो । 

“ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उहाँले भन्नुभयो, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ” उहाँले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताउनुभयो । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उहाँको भनाइ रहेको छ।

मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताउनुभयो । “निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।” उहाँले जुनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राख्नुभयो । सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताउनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अस्थायी सरकारले स्थायी सरकारलाई हस्तक्षेप गर्दा मुलुकको विकास निर्माणमा बाधा पुगेको बताउनुभयो।

उहाँले चार वर्षदेखि सङ्घीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासनमन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।

Skip This