अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग

संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गर्नुभयो ।

हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उहाँले सिंहलाई तत्काल रिहाइ गर्न माग गर्नुभयो । साथै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न थालेको र निर्वाचनमा प्रभाव पार्ने गरी कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै तत्काल त्यस्ता कार्य बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद समिना हुसेनले मुलुकभर विशेष गरी तराई–मधेशमा हाल जग्गाको कित्ताकाट गर्न पनि नपाएको र जग्गा बैंकमा राखेर ऋण पनि नपाएको बताउँदै यसले किसानका छोराछोरीले पढनसमेत नपाएको उल्लेख गर्नुभयो । उहाँले यस सम्बन्धमा तत्काल समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हुसेनले वैदेशिक रोजागरीमा हाल महिलालाई रोक लगाएर विभेद गरिएको बताउँदै तत्काल यो विषय सम्बोधन गर्न पनि माग गर्नुभयो । सांसद लक्ष्मणलाल कर्णले नेपाल अतिरिक्त हुलाक सेवामा हजारौँ कर्मचारी न्यूनतम तलब पनि नपाएर काम गर्नुपरेको जानकारी गराउँदै उनीहरुलाई न्यूनतम तलबको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बिमला विश्वकर्माले झापामा भूमिहिनले विभिन्न माग राखी आन्दोलन गरिरहेको जानकारी गराउँदै उनीहरुलाई तुरुन्त धनी पूर्जा दिन तथा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Skip This