अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक छ : गृहमन्त्री खाण

उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक छ : गृहमन्त्री खाण


भैरहवा – गृहमन्त्री बालकुष्ण खाणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताउनुभएको छ । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैं त्याग गर्न पनि आवश्यक रहेको चर्चा गर्नुभयो ।

“यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो”, उहाँले भन्नुभयो, “तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।”

मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गर्नुभयो । मानव जीवनको सुरुआतमा खराबी भएपनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो । साथै गृहमन्त्री खाणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने बताउनुभयो । “उचित रेखदेखका लागि सरकारले बजेट व्यवस्थापन गरेर उहाँको जीवन सहज बनाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धनमा सरकार लागेको बताउनुभयो । यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिकस्थलको विकास र यसको प्रवद्र्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको पाँच लाख र अन्य दाताबाट गरी ३० लाखभन्दा बढीको लागतमा भैरहवामा रहेको शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो । गुम्बामा अहिले ३५ विद्यार्थी, आनी एवम् लामा गुरु आठजना रहेको गुम्बाका अध्यक्ष आसबहादुर गुरुङले जानकारी दिनुभयो ।  

Skip This