अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेङ्गु नियन्त्रण र रोकथामका लागि तयारी

डेङ्गु नियन्त्रण र रोकथामका लागि तयारी


विराटनगर- विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो ।

आज स्वास्थ्यकर्मीहरुका लागि डेङ्गु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोर्डिनेटर डा सुरेन्द्र उरावले डेङ्गुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले भदौ यता डेङ्गुको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो । उहाँले टायर, जार, नालीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो । डाक्टर उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्त्ति सङ्क्रमित भएको उल्लेख गर्नुभयो ।

पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई डेङ्गु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्त्तिसँग डेङ्गुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।