अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ सुरु

काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ सुरु


काठमाडौँ  जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित समय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाउनु भएको हो ।

अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने प्रजिअ उपाध्यायले बताउनु भयो । उहाँका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ ।

त्यस्तै शुक्रबार बाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ ।

‘प्रशासनबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन १० वटा सेवामा टाइमकार्ड लागू गरेका छौं । बिहीबारबाटै यसलाई कार्यान्वयनमा लगेका छौं,’ प्रजिअ उपाध्यायले भन्नुभयो, ‘यसले सेवा लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएको छ । अब तोकिएका आवश्यक कागजात लिएर आएका सेवाग्राही कसैले पनि अनावश्यक समय पर्खनुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने छैन । यसले सेवाग्राहीको समय मात्रै बचत गरेको छैन । अनावश्यक रुपमा हुने बिचौलियाको घुसपैठ र चलखेललाई पनि रोक्ने हाम्रो अपेक्षा छ ।’