अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक को-को होलान् ?

एमालेमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक को-को होलान् ?


काठमाडौं-नेकपा एमाले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक हुनका लागि संसद्मा रहेका नेताहरूले लबिङ गरिरहेका छन् । 

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रपतिमा चर्चा भएपछि उहाँको ठाउँमा कसले उपनेताको जिम्मेवारी पाउने हुन् भन्ने चर्चा भइरहेको छ । 

नेम्वाङ लामो समयसम्म सभामुख, संविधानसभाको अध्यक्ष र उपनेता पनि भइसक्नु भएकोले यसपालि नयाँ अनुहारले मौका पाउनु पर्ने माग एमालेमा छ । संसदीय दलको नेताको अनुपस्थितिमा दलका सांसदहरूलाई निर्देशन दिने, संसद्मा उठाउनु पर्ने विषय जानकारी गराउने, सभामुख र सरकारसँग समन्वय गराउने भूमिका दलका उपनेताले निर्वाह गर्नुपर्दछ ।

एमालेका एक पदाधिकारीका अनुसार उपाध्यक्ष विष्णु पौडेललाई  दलको उपनेताको जिम्मेवारी दिने सम्भावना प्रबल छ । पौडेल  उपप्रधान तथा अर्थ मन्त्रीको जिम्मेवारीमा रहनु भएकोले समय व्यवस्थापनमा समस्या हुने भएकोले दोस्रो व्यक्तिको खोजी हुन सक्ने एमाले वृत्तमा चर्चा छ । 

तथापि नेम्वाङको शीतल निवासको यात्रा तय नभएमा उहाँले नै यही पदमा दोहोर्‍याउने सम्भावना पनि उत्तिकै छ । दलको उपनेतामा पार्टी सचिव टोपबहादुर रायमाझीको नाम पनि चर्चामा छ । 

यस्तै संसद्मा आफ्नो दलका तर्फबाट बोल्ने सांसदहरूको पालो लगाउने, दलको नेताको निर्देशन संासदहरुलाई प्रवाह गर्ने,सभामुखसँग आफ्ना पार्टीका एजेण्डा र मागबारेमा नियमित छलफल गर्ने जिम्मा भएको प्रमुख सचेतकमा एमाले धेरै नेताहरूले चासो देखाएका छन् ।  छविलाल विश्वकर्मा, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र विद्या भट्टराई, नेता गोकुल बास्कोटालगायतका सांसदहरू आफूले संसद्मा प्रमुख सचेतकको भूमिका निर्वाह समन्वयकारी ढंगले गर्ने दाबी गर्दै आउनुभएको छ । 

सचेतकको लागि अच्युत मैनाली, दिपा शर्मा, ठाकुर गैरे, उर्मिला थेबेको नाम चर्चामा छ । 

एमाले स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनपछि मात्र संासदहरुलाई यी जिम्मेवारी तोक्ने मनस्थिति बनाउनु भएको छ । ७९ सांसदसहित एमाले संसद्मा दोस्रो ठुलो दलको हैसियतमा छ  ।