अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


ललितपुर – ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन्।  क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ। हाल नख्खु कारागारमा ६९५  पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक  छन् ।  त्यसैगरी, ८१२  कैदीबन्दीमध्येमा ५७  विदेशी नागरिक  छन् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।

हाल कारागारमा तीन  ब्लक  छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ।  कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर  र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ। कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ। कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ। पढ्न चाहानेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ।’ कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताउनु भयो।

Skip This