अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा


काठमाडाैं – अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ। 

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो । उहाँले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो । 

‘हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गर्नुभयो । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ’, उहाँले भन्नुभयो, ‘हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।’

हुलाकीको सपना र अन्तरसंघर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त हुनुहुन्छ । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुभएको छ । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । ‘चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ’, अभिनेता त्रिपाठीले भन्नुभयो । 

चलचित्रमा विनिता थापामगरले अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुग्नुभएकी अभिनेत्री थापामगरलाई मुख्य चरित्र निर्वाह गर्न धेरै समय लाग्यो । अभिनेत्री थापामगरले भन्नुभयो, ‘यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।’

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल हुनुहुन्छ । चिन्तन राजभण्डारी छायाँकार रहनुभएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई जिजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्नुभएको हो । – रासस

Skip This