अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 वेलिङ्टनको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु

 वेलिङ्टनको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु


काठमाडौँ-न्युजिल्यान्डको वेलिङ्टनस्थित एक छात्रावासमा आगलागी हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका थुप्रैको अवस्था अझै अज्ञात रहेको न्युजिल्यान्डका प्रधानमन्त्रीले मंगलबार जनाएका छन् ।

वेलिङ्टनको लोफर्स लजस्थित एक ४ तले छात्रावासमा स्थानीय समयअनुसार, सोमबार मध्यरातमा आगलागी भएको भएको थियो । आगलागीको कारण भने अझै स्पष्ट हुन नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी भएलगत्तै आपत्कालीन सेवालाई सक्रिय बनाइएको बताइएको छ । उद्धारकर्ताहरूले आगलागी भइरहेको छात्राबासबाट दर्जनौं व्यक्तिलाई बाहिर निकालेको पनि समाचारमा जनाइएको छ । आगलागी हुँदा छात्रावासमा रहेका केही व्यक्ति अझै पनि हराइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने प्रहरीको अनुमान छ । छात्राबासको चौथो तल्लाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रण गर्न करिब २० वटा दमकल प्रयोग गरिएको थियो ।

‘वेलिङ्टन सहरका लागि यो निकै भयावह र दुःखद घटना हो,’ अग्नि तथा आपतकालिन डिस्ट्रिक कमान्डर निक प्याटले भनेका छन् । उनले आगलागी भएको भवनको वरपर बसोबास गर्ने नागरिकलाई घरहरुको झ्याल बन्द राख्न र धुवाँबाट जोगिन मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।

‘यो निकै दुःखद घटना हो । म मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न चाहन्छु,’ प्याटले भनेका छन् । प्रहरीका अनुसार, आगलागी भएको भवनको राम्ररी निरीक्षण नगरेसम्म मृतकको यकिन सङ्ख्या बताउन सकिने अवस्था छैन ।

उद्धारकर्ताहरूले आगलागी भएको छात्रावासको छतबाट पनि ५ जनालाई उद्धार गरेको थियो । आगलागी भइरहेको भवनको तेस्रो तल्लाबाट हामफाल्ने क्रममा एकजना महिला गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर जोन हिपकिन्सले आगलागीको घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् । ‘यो निकै दूर्भाग्यपूर्ण घटना हो । म निकै दुःखी छु । आगलागीमा परी आफ्नो अमूल्य जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ उनले भनेका छन् । उनले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले उद्धारको काम तदारुकताका साथ भइरहेको पनि बताएका छन् ।-एजेन्सी 

Skip This