अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 हिन्दी भाषामा पनि ‘परस्त्री’

 हिन्दी भाषामा पनि ‘परस्त्री’


काठमाडौँ-केही समयदेखि नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् । 

अभिनेता हुँदै निर्देशक बन्नुभएका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिनुभयो । “हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भन्नुभयो । 

चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनालले हिन्दी भाषामा नेपाल प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको जानकारी दिनुभयो । “हामी छलफलमै छौँ । नेपालमा हिन्दी भाषा प्रदर्शन गर्नै पर्ने भन्ने छैन । हिन्दी भाषा विशेषतः भारतसँगै विदेशी बजारको लागि हो”, लेखक खनालले भन्नुभयो । 

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गर्नुभएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बइमा गरिएको छ ।

हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ । “हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भन्नुभयो ।